राजदूतका चार नाममा लफडा, कसका विरुद्ध को भयो खडा ?

मंगलबार, असोज १, २०८१

राजदूत नियुक्तिका लागि सिफारिस १७ जनालाई नै अनुमोदन गर्ने कि विवादितलाई रोक्ने भन्ने विषयमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच कुरा नमिलेपछि संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ ।

सिफारिस भएकाहरूले आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेपछि निर्णय गर्न भन्दै बोलाइएको बैठक बस्दै नबसेर सारिएको यो दोस्रो पटक हो । गत बिहिबार संसदीय सुनुवाइ समितिमा सिफारिस सबै जनाले आफ्नो कार्ययोजना प्रस्तुत गरेर भ्याएका थिए । त्यसपछि निर्णयका लागि भनेर बैठक आइतबार आह्वान भएको थियो ।

आइतबार समिति सभापति ईश्वरी न्यौपाने सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठकमा जानु पर्ने भएको भन्दै बुधबार सम्मका लागि सारिएको थियो । आज फेरि बुधबारका लागि आह्वान भएको बैठक बिहिबारका लागि सारिएको सभापति न्यौपानेले जानकारी दिइन् । तर, किन सारिएको छ भनेर उनले बताइनन् ।

१५ सदस्यीय संसदीय सुनुवाई समितिमा कांग्रेसका ५, एमालेका ५, माओवादी केन्द्रका २, रास्वपाका १, जसपा नेपालका १ र राप्रपाका १ जना सांसद सदस्य छन् । सत्तामा रहेका कांग्रेस र एमालेबीच कुरा मिल्दा बुहमत पुग्ने समितिमा विवादित ४ राजदूत सिफारिसलाई अनुमोदन गर्ने विषयमा दुई दलबीच कुरा नमिलेपछि निर्णय गर्न बोलाइएको बैठक पटक–पटक सारिएको समितिका एक सदस्यले जानकारी दिए ।

समितिमा मुख्य विवाद नेकपा एमालेको कोटाबाट मलेसियाका लागि राजदूत सिफारिस भएका डा. नेत्रप्रसाद तिम्सिना र नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस शंकरप्रसाद शर्मा (भारत), प्रा. धनप्रसाद पण्डित (इजरायल) र प्रा.कपिल श्रेष्ठ (दक्षिण अफ्रिका)बारे छ । यी मध्ये  श्रेष्ठको राजदूत सिफारिस नेपालको संविधान २०७२ विपरीत छ भने अन्य तीन जनाको सिफारिस राजदूत नियुक्तिसम्बन्धी नियमावलीविपरीत छ ।

कांग्रेसले एमाले कोटामा सिफारिस तिम्सिनाको अनुमोदन गर्न नहुने बताएपछि एमालेले कांग्रेस कोटामा सिफारिस शर्मा, श्रेष्ठ र पण्डितलाई पनि अनुमोदन गर्न नहुने बताइरहेको छ । जसका कारण कुरा मिल्न नसकेर बैठक पटक–पटक स्थगित हुँदै आएको हो ।

यी चार जनाविरुद्ध समितिमा उजुरी पनि परेका छन् । यदी ती उजुरीलाई बेवास्ता गर्दै अनुमोदन गरिएमा अदालतमा रिट परेमा झन गाह्रो हुने भन्दै कांग्रेस एमालेको शीर्ष तहमै कुराकानी भएर टुंगियोस भन्नेमा समितिका सभापति र सदस्यहरू छन् । ओली र देउवाबीच पनि यसबारे सहमति बनिनसकेकाले समिति बैठक अनेक कारण बनाएर सार्ने काम सभापति न्यौपानेले गर्दै आएकी छन् ।

समितिका धेरै सांसदहरू प्रश्न उठेका चार जनालाई सिफारिस गरेर पठाउँदा यही चलन बस्न सक्ने भन्दै दोहोर्‍याएर सोच्नुपर्ने बताउँदै आएका छन् ।

१४ साउनको मन्त्रिपरिषद् बैठकले १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । बैठकले भारतका लागि शंकर शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, मलेसियाका लागि तिम्सिना, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा पण्डित, दक्षिण अफ्रिकामा श्रेष्ठ, जर्मनीमा डा. शैल रूपाखेती, स्पेनमा सनिल नेपाल, श्रीलंकामा रामकृष्ण भट्टराई, पोर्चुगलमा प्रकाशमणि पौडेल र पाकिस्तानमा रिता धिताल, डेनमार्कमा सुम्निमा तुलाधर र रुसमा जंगबहादुर चौहानलाई राजदूतमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्