दरबारमार्गमा हुने नेशनल डे कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी हुने

मंगलबार, असोज १, २०८१

संविधान दिवसको अवसरमा आयोजना हुन लागेको नेशनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली दरबारमार्गमा आयोजना हुने नेशनल डे कन्सर्टमा अन्य आगन्तुकजसरी नै सहभागी हुनेछन्।

कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी हुने आयोजकका तर्फबाट आइतबार गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो।  चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका आयोजक दिनेश डिसीले प्रधानमन्त्रीसमेत सहभागी हुने जानकारी दिएका थिए। ओलीले आउने वचन दिएपछि डिसीले त्यसलाई सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका रामशरण बजगाईँले प्रधानमन्त्री दरबारमार्गमा आयोजना हुने कार्यक्रममा कुनै हेरफेर नभएकाे जानकारी गराए। ‘दरबारमार्गमा आयोजना हुने कन्सर्टमा प्रधानमन्त्री आउने कार्यक्रममा कुनै फेरबदल भएकाे छैन,’ उनले भने।

कन्सर्ट दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म चल्नेछ। कार्यक्रममा राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तरालगायतका व्यान्ड, कलाकारहरूले प्रस्तुति दिने आयोजकले बताएका छन्। ‘कलाकार, साहित्यकारलगायत समाजका विभिन्न तप्काबाट मानिस आउनेछन्,’ उनले भने।

यद्यपि नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भने संविधान दिवसका दिन प्रधानमन्त्री बिहानको औपचारिक कार्यक्रममा मात्रै सहभागी हुने जानकारी दिए।

उनले भने, ‘संविधान दिवसको दिन बिहान हुने औपचारिक कार्यक्रममा उहाँको सहभागिता हुन्छ। अरु अनौपचारिक कार्यक्रम हुन्। त्यहाँ जाने कार्यक्रम छैन।’ संविधान दिवसका दिन प्रत्येक वर्ष सरकारले टुँडिखेलमा औपचारिक समारोह आयोजना गर्ने गर्छ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्