वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा

बिहीबार, वैशाख २०, २०८१

टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । आजको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १२ः१५ बजे सुरु भएको छ  । 

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जिसी, ललितनारायण राजवंशी र अभिनाश बोहरा रहेका छन् । 

यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिज ‘ए’ले दुई खेल जितेको छ भने नेपाल एउटा खेलमा मात्र    विजयी भएको छ । यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए । 

यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रन मात्र बनाउन सक्यो । उक्त खेलमा पनि कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित ७१ रन बनाए । पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् । फलस्वरुप नेपालले सो खेल झिनो रनअन्तरले गुमाउन पुग्यो । 

यस्तै बुधबार भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग फराकिलो रनअन्तरले पराजित भयो । वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपालसामु दुई सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरे पनि नेपाली टोली एक सय ५१ रनमै समेटियो । सो खेलमा त्यसअघिका दुई खेलको भन्दा कमजोर खेल प्रदर्शन ग¥यो । नेपाली टोलीको अन्य दुई खेलको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङमा फितलो प्रदर्शन रह्यो । सो खेलमा वेस्ट इन्डिज ‘ए’का जोनसन चाल्र्सले शकतीय पारी खेले भने आन्द्रे फ्लेचरले अद्र्धशतक प्रहार गरे ।  पाँच खेलको जारी शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ आजको खेलमा बिनादबाब मैदानमा उत्रने छ । नेपाली टोली जित्नैपर्ने दबाबमा हुनेछ । 

नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल शनिबार हुनेछ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्