भाष्य मात्रले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण नभत्किने शंकरको दाबी 

शनिबार, असोज ५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गर्ने काम भइरहेको बताएका छन् । 

प्रेस चौतारी नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको हित र राजनीतिक स्थायित्वका लागि बनेको सरकारको समीकरणविरुद्धको चलखेल मात्रै रहेको टिप्पणी गरे । 

“एमाले–कांग्रेस मिलेपछि अब देश अस्थिरताबाट मुक्त भएको छ । स्थिर सरकारको आवश्यकता ठानेर संसद्का दुई ठूला दल एक ठाउँमा उभिएका हुन्,” उनले भने, “यो अवस्थामा अब अराजकता चाहनेको केही लाग्दैन । विकल्प खोज्ने हो भने सदनबाट मात्रै सम्भव छ । थप अरु संसदीय विकल्प खोज्ने भए २०८४ को निर्वाचन छँदै छ । आमनिर्वाचनबाट जनताको मत लिएर आफूलाई प्रमाणित गर्ने ठाउँ खुला छ ।” 

दुई प्रमुख पार्टीको एक्लाएक्लै चुनाव लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुने उनको भनाइ छ । देशको विकास र सुशासनमा साना राजनीतिक दलले अस्थिरता ल्याएको महासचिव पोखरेलको आरोप छ । 

अहिले चर्चामा रहेको सहकारी ठगीबारे उनले सहकारी क्षेत्रमा संकट देखिनु वित्तीय संकटको प्रभाव रहेको बताए ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्