सदन अवरोध जारी राख्ने भन्दै प्रचण्डले खोले यस्ता कुरा 

शनिबार, असोज ५, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन अवरोधलाई जारी राख्ने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हत्या र हिंसा शब्द संविधान र शान्ति सम्झौताको विपरित भएकाले सदन अवरोध जारी राख्ने बताएका हुन्।

उनले भने, ‘हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित हामी सदन अवरोधको स्थितिमा छौँ। र हामी जवरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ, हामी छोड्दैनौ । किनकि संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार छैन। हामीले यो कुरा प्रतिनिधि सभामा पनि जवरजस्त उठाएका छौँ। प्रतिनिधि सभामा नहुने साथीहरूले सडकबाट उठाइदिन पर्‍यो।’

उनले प्रतिनिधि सभामा सङ्ख्यामा कमजोर भएपनि विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरूको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए। 

उनल भने, ‘हामी अहिले प्रतिनिधि सभामा सङ्ख्यामा कमजोर नै छौँ । यो त दुनियाँले बुझेकै कुरा हो। तर हाम्रो विरासतको कारणले, हाम्रा मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा हाम्रो बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ । हामी कमजोर छौँ भनेर भावना लिनु सही हुँदैन। सदनमा हेर्ने हो भने संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरू हामीले असफल बनायौँ।’

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्