धनराज गुरुङले गडबड गरे जेल जाने विश्वप्रकाशको ठोकुवा

शनिबार, असोज ५, २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले छानविन सुरु गरिसकेको बताएका छन् । आज (शनिबार) कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुरुङमाथि छानविन सुरु गरेको र दोषी देखिएमा जेल जाने बताएका हुन् ।

‘नयाँ दल भनेर हुँदैन । नयाँ प्रवृत्तिको कुरा हो । नयाँ दलको सभापतिलाई सहकारी ठगीको आरोप लाग्यो । त्यो दलले हाम्रो सभापतिमाथि छानविन गर्न पाइँदैन भन्यो । पुरानो दलको उपसभापति धनराज गुरुङलाई सहकारी ठगीको आरोप लाग्यो । उहाँले आफैंले सदनमा उभिएर ममाथि छानविन गर भन्नुभयो । हामी भन्छौं हाम्रो उपसभापतिमाथि छानविन गरिनुपर्छ । छानविन गर्ने प्रक्रिया सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लागेको छैन । छानविन सीआईबीले गर्ने भयो । प्रक्रिया सुरु भएको छ । धनराज गुरुङ छानविन गर्दैगर्दा निदोर्ष देखिनुहुन्छ । माला लगाएर कांग्रेसको नेतृत्व गरेर अगाडि जानुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ,’– महामन्त्री शर्माले भने ।

गुरुङ ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएका छन् । उनकी पूर्व श्रीमती ज्योति गुरुङले सो सहकारीबाट १२ करोड ५० लाख रुपैया अपचलन गरेको आरोप छ । सो कार्यमा धनराजको पनि हात रहेको सहकारीका अध्यक्ष कुम्मराज गुरुङले बताउँदै आएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्