सोसल मिडिया
युनिकोड
संसद अधिवेशन अन्त्य भए संगै फुर्सदिला बनेका सांसदहरु एकपछि अर्को विदेश सयरमा निस्किएका छन्। केही दिन अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पत्नी श्रीमती सिता थापा सहित अन्य दुई जना बोकेर बेलायत हन्निएका छन्।
त्यस्तै राप्रपा नेता ध्रुवबहादुर प्रधान पनि चीन उडेका छन्। यता,राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डल चीन गएको छ । उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको १४ सदस्यीय टोली मध्यराति पौने १२ बजे चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६८ मा ग्वाङ्चौतिर लागेको छ ।
सहकारी छानबिन समितिका सदस्य समेत रहेका सांसद शिशिर खनाल,डा. तोसिमा कार्की,मनिष झा,असिम साह,शिव नेपाली,गणेश पराजुली सहितको टोली चीन उडेको हो । सांसद बाहेक केन्द्रीय सदस्यहरु बासुमाया तामाङ,निशा मेहता,पुकार बम,लिमा अधिकारी, प्रकाश विष्ट,तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ पनि टोलीमा छन् ।
प्रधानमन्त्री केपी ओली अमेरिकामा छन् भने परराष्ट्र मन्त्री आरजु राणा पनि अमेरिकामै छन्। सहकारी छानबिन समितिका दुई सदस्य एकैपटक चीन जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। रास्वपाका शिशिर खनाल र राप्रपाका ध्रुव बहादुर प्रधान सहकारी छानबिन समितिका सदस्य थिए।