सोसल मिडिया
युनिकोड
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आत्तिएका छन्। उनले कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएर प्रतिकारका लागि तयार रहन निर्देशन दिएको बुझिएको छ।
प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृत भन्छन्, ‘सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान सुरु भएको छ । छविलालको बयान लिएपछि थप अनुसन्धान अघि बढ्छ ।’ छविलालको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।
पूर्वडीआईजी जोशी, पूर्वगृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ ।
लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । सहकारीबाट अवैध तरिकाले ल्याएको करोडौं रकम उनको हस्ताक्षरबाट चेक काटिएको छ । जोशीसँग प्रारम्भिक बयान लिएर प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ । आइतबार गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न आईजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।
मन्त्रीको निर्देशनपछि पूर्व डीआईजी जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेर कास्कीमा पठाएको छ । रवि लामिछानेविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने भएको छ । संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पनि संलग्न रहेको भन्दै पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका हुन् । सो उजुरीको आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ ।
सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लैजान लागिएको हो ।
गोर्खा मिडियाका अध्यक्ष गितेद्रबावु राईविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । उनलाई पक्राउ गर्न इन्टरपोलबा रेड नोटिस जारी गरिएको छ । सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेका थिए । अहिले उनी मुद्दा पुर्पक्षका लागि थुनामा छन् । यहि प्रकरणमा रवि पनि जोडिएका हुन्।