राष्ट्रिय महिला लिगमा आजदेखि लिगचरणका अन्तिम खेल सुरु हुँदै

बिहीबार, असोज १०, २०८१

राष्ट्रिय महिला लिगमा आजदेखि लिगचरणका अन्तिम खेल सुरु हुँदैछन्। आज पहिलो खेलमा चन्द्रपुर र वालिङ नगरपालिका तथा दोस्रो खेलमा कोशी र  सुदूरपश्चिम प्रदेश खेल्दैछन्। दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुँदैछ।

खराब प्रदर्शनलाई निरन्तरता दिएको सुदूरपश्चिम पहिलो चरणबाटै बाहिरिसकेको छ। चन्द्रपुर, वालिङ र कोशी भने  अन्तिम खेल जित्दै दोस्रो चरणमा पुग्ने योजनामा छन्। बागमतीले भने भोलि एपिएफसँग खेल्नेछ।

यसअघि नै विभागीय टोलीहरु एपिएफ, आर्मी र नेपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। अब, कोशी, चन्द्रपुर र वालिङ मध्ये दुई टोलीको टुंगो लाग्न बाँकी। त्यो पनि आजको खेलसँगै पूरा हुनेछ।

२२ अंकसहित एपिएफ शीर्ष स्थानमा छ। आर्मीको १९ र पुलिसको १८ अंक छ। वालिङको १२, कोशीको ११ तथा बागमतीको १० अंक छ। संकटा र चन्द्रपुरको समान ८ अंक रहँदा कर्णालीको चार अंक छ। आठ खेलमा ६५ गोल बेहोरेको सुदूरपश्चिम पुछारमा छ।

कोशी कमजोर सुदूरपश्चिमविरुद्ध जित निकाले सिधै दोस्रो चरणमा प्रवेश गर्नेछ। चन्द्रपुरविरुद्ध जित निकाले वालिङ पनि सिधै छनोट हुनेछ। 

यदि चन्द्रपुरले जित निकालेको अवस्थामा पनि वालिङको सम्भावना यथावत रहन्छ। तर, बागमतीले एपिएफलाई हराउँनु पर्नेछ।

दोस्रो चरणमा पाँच टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन्। तालिकाको शीर्ष पाँच टोलीबीच नकआउट खेल हुनेछ। प्लेअफ खेलमा फाइनलसहित चार खेल हुनेछन्।
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्