दशैं सुरु भएकै दिन  नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने

बिहीबार, असोज १०, २०८१

नेपाल र बंगलादेशबीच असोज १७ गते घटस्थापनाको दिने विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालयका सल्लाहकार प्रबल अधिकारीले नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली निर्यात आयात सम्झौता हुने जानकारी दिएका छन् ।

उक्त सम्झौता काठमाडौँमा हुने तय भएको छ । यो सम्झौता साउन १३ गते हुने तय भएको थियो । तर बंगलादेशमा राजनीतिक तनाबका कारण रोकिएको थियो ।

बिजुली निर्यातका लागि नेपाल, भारत र बंगलादेशीबीच त्रिपक्षीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुन लागेको हो । सम्झौतामा नेपाल विद्युत प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन) र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच बिजुली निर्यातका लागि त्रिपक्षिय सम्झौता हुनेछ ।

बंगलादेश, नेपाल र भारतबीच ऊर्जा सहयोगसम्बन्धी समझदारी भएको ६ वर्षपछि नेपालबाट भारत हुँदै ४० मेगावाट बिजुली  नेपालबाट बंगलादेशले आयात गर्ने सम्झौतामा हस्ताक्षर हुने निश्चित भएको हो । 

यो त्रिपक्षीय सम्झौता क्षेत्रीय ऊर्जा व्यापारमा कोशेढु‌गा हुने अधिकारीको भनाई छ। नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको थियो । यो सम्झौताबाट उक्त समझदारी कार्यान्वयनमा आउनेछ र नेपालको स्वच्छ ऊर्जाका लागि बजार विविधिकरण हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्