एक वर्ष सुस्ता गाउँपालिका-५ का बासिन्दालाई उर्जा मन्त्री खड्काले सित्तैमा बिजुली दिने

बिहीबार, असोज १०, २०८१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका-५ का बासिन्दालाई एक वर्षका लागि विद्युत्‌ महसुस नलिने घोषणा गरेका छन्।​

सुस्ता जोड्ने पुल उद्घाटनपछि बोल्दै उनले पुलसँगै विद्युत् प्रसारण लाइन पनि पुगेको भन्दै एक वर्षका लागि शुल्क नलिने बताएका हुन्। उनले गरिब जनता र मुलुकको स्रोत, साधनबाट वञ्चित व्यक्तिलाई सरकारले विद्युत् उपलब्ध गराउँदै आएको बताए। उनले १५ मेगावाट उत्पादन हुने ठाउँमा तीन मेगावाट मात्रै उत्पादन भइरहेकोप्रति पनि आफूहरूको ध्यानाकर्षण भएको बताए। उनले विद्युत्‌को पहुँचसँगै उद्योगधन्दा र रोजगारी बढ्ने अपेक्षा व्यक्त गरे।

मन्त्री खड्काले भने, ‘गरिब जनता र मुलुकको स्रोत, साधनबाट वञ्चितलाई हामीले विद्युत् उपलब्ध गराउँदै गर्दा उहाँहरूले के सुविधा पाउनु हुन्छ भन्ने आशयका साथ अनुरोध गर्नुभएको छ। म अनुरोधलाई ससम्मान गर्दै मन्त्रालयका तर्फबाट एक वर्षका लागि विद्युत् निःशुल्क हुने घोषणा गर्छु।’

मन्त्री खड्काले भारतसँग सीमा जोडिएकाले पनि रोजगारीका अवसर अब उद्योग सञ्चालनसँगै बढ्ने विश्वास व्यक्त गरे। उनले सिँचाइमा पनि विद्युत्‌ प्रयोग बढाउन सकिने उल्लेख गरे।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्