शनिबार र आइतबार पनि देशभर नै मनसुन सक्रिय रहने

शुक्रबार, असोज ११, २०८१

देशभर  मनसुनी वायु साथै  भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकोले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार आज बिहान देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

त्यस्तै आज दिनभर  देशभर नै धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा भने मुसलधारे पानी पर्ने महाशाखाको बुलेटिनमा उल्लेख छ। आज दिउँसो देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीसमेत आउने महाशाखाले उल्लेख गरेको छ। 

आज राती पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित पानी पर्छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने जनाइएको छ । त्यस्तै राती  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  भने मुसलधारे पानी पर्ने र  तराई भू-भागका केही स्थानहरूमा हावा हुरी आउने जनाइएको छ।

शनिबार र आइतबार पनि देशभर नै मनसुन सक्रिय रहने र देशका अधिकांश स्थानमा सामान्यदेखि मुसलधारेसम्म वर्षा हुने बुलेटिनमा उल्लेख छ।

 कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मुसलधारे पानी पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा रहेका मानिसले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्