एन्फा एकेडेमीका ४० बालकमध्ये ६ जनाको पहिरोमा पुरिएर मृत्यु

शनिबार, असोज १२, २०८१

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालकमध्ये ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य ३४ बालक सकुशल छन् ।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयका दुवै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरू पहिरोमा पुरिएर बेपत्ता भएका थिए । खोजबिनका क्रममा उनीहरू सबै ६ जना बालकको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मकवानपुरका अनुप घलान, विवश बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योन्जन रहेको एन्फाले जनाएको छ । सबैको शव पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सकुशल अन्य विद्यार्थीहरुलाई सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पठाइने भएको छ । मकवानपुरको वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए ।

अन्डर १३ समूहका ४० जना बालकलाई अखिल नेपाल फुटबल संघ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित वत्सलादेवी माविको छात्राबासमा बन्द प्रशिक्षणमा राखेको थियो ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्