सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च 

आइतबार, असोज १३, २०८१

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च मापन भएको छ।  पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा अहिले प्रतिसेकेन्ड ६ लाख ६१ हजार पाँच क्युसेक  रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। 

आज बिहान ३ बजेको मापनअनुसार कोसी ब्यारेज भएर सप्तकोसीमा प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक पानी बहेको थियो।

सप्तकोसीमा पानीको बहाव बढ्ने क्रममा रहेकाले उच्च सतर्कता अपनाइएको व्यारेज प्रशासनले जनाएको छ। 

यसअघि कोसी ब्यारेज भएर अहिलेसम्मकै सबैभन्दा बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो। शनिबार बेलुका १०ः२५ बजे सप्तकोसीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक थियो। कोसीमा पानीको बहाव निरन्तर बढिरहेको छ। 

शनिबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो। पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका सबै अर्थात् ५६ वटै ढोका खोलिएका छन्। 

सप्तकोसी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ। 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्