सोसल मिडिया
युनिकोड
सत्ता साझेदार नेपाली कांग्रेसले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले उक्त दल दर्ताको निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
‘उक्त उपनिर्वाचनमा दलको तर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी शेरबहादुर देउवालाई दिइएको छ‚’ उनले भने ।
साथै कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ । बैठकले बाढीपीडितका लागि सबै सांसदले १५ दिनको तलव दिने पनि निर्णय गरेको छ ।
बैठकले जारी सय दिने अभियान स्थगित गर्ने पनि निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए । सो अभियान कोजाग्रत पूर्णिमा सम्मका लागि स्थगन गरिएको महतले जानकारी दिए । उनले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार र राहत कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए । साथै कोजाग्रत पूर्णिमामा गरिँदै आएको चियापान कार्यक्रम पनि स्थगित भएको कांग्रेसले जनाएको छ ।