उर्जा मन्त्रीले डाकेको पत्रकार सम्मेलनमा कुलमानले के-के सुनाए ?

आइतबार, असोज १३, २०८१

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उनले ४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडवर्क्सको कन्ट्रोल बिल्डिङ पूर्णरुपमा ध्वस्त भएको र विद्युत क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसहित ४ जना बेपत्ता भएको बताएका छन्। 

आइतवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्।

‘४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडवर्क्सको कन्ट्रोल भवन पूर्णरुपमा ध्वस्त भएको छ। क्षति यकिन गर्न सकिएको छैन‚ ४ जना बेपत्ता भएको अवस्था छ‚’ उनले भने, ‘अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पूर्णनिर्माण गर्नुपरे यो वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउन सक्छ‚ बढी विद्युत आयात गर्नुपर्ने हुनसक्छ। छिटोभन्दा छिटो रि-स्टोर गर्ने तयारीमा छौँ।’

उनले अहिलेसम्म आयोजनामा भएको क्षति यकिन गर्न नसकिएको बताए। बाढी, पहिरोका कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा भारतबाट बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताएका छन्।

घिसिङले अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनःनिर्माण गर्न नसके यस वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउनसक्ने बताए। उनले  हिउँदमा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने उल्लेख गरे।

उनले क्षति पुगेका जलविद्युत आयोजनाहरुमा छिटोभन्दा छिटो रि-स्टोर गर्ने तयारीमा प्राधिकरण लागेको बताए। 

उनले बाढीका कारण काबेली करिडोरका तीनवटा टावरमा क्षति हुँदा २ सय मेगावाटको पूर्वाञ्चलमा आउने लाइन बन्द भएको पनि बताए। उनले काबेली करिडोरबाट तीन सबस्टेशन इलाम, फिदिम र ताप्लेजुङ विद्युत सप्लाई हुने लाइन पनि बन्द भएको पनि बताए।

उनले खिम्ति लामोसाँघु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको भन्दै त्यसलाई बनाउन जाने कुनै पनि पहुँच मार्ग नभएकाले समस्या भइरहेको बताए। 

उनले खिम्ति-लामोसाँघु आउने ट्रान्समिसन लाइन पनि एक हप्ताभित्र बनाउने बताए। उनले खिम्तिदेखि ढल्केबर २२० केभी लाइनले करिब ८ सय मेगावट पावर सप्लाई गर्ने टावरतिर तामाकोशी नदी बगिरहेकाले खतरामा रहेको बताए।

उनले उक्त टावर क्षति भए ८ सय मेगावाटको लिखु र तामाकोशी करिडोर पनि बन्द हुने बताए। उनले चमेलिया करिडोरमा पनि केही क्षति भएको बताए। 

‘काबेली करिडोरको तीनवटा टावरमा क्षति हुँदा २ सय मेगावाटको पूर्वाञ्चलमा आउने लाइन बन्द भएको छ। खिम्ति लामासाँगु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको छ‚’ उनले भने, ‘खिम्तिदेखि ढल्केबर २२० केभी लाइनले करिब ८ सय मेगावट पावर सप्लाई गर्छ। एउटा टावर भएतिर तामाकोशी बगिरहेकाले खतरामा छ भन्ने खबर आएको छ। त्यो टावर क्षति भए ८ सय मेगावटको लिखु र तामाकोशी करिडोर सबै बन्द हुने अवस्था छ।’

उनले अहिले नेपालबाट भारत निर्यात हुने विद्युत पनि घटेको बताए। उनले करिब २५० देखि ३ सय मेगावाट मात्रै विद्युत निर्यात भइरहेको बताए। 

‘बाढीको कारण सबै पावर प्लान्ट बन्द भएपछि बिड गरेको विद्युत पनि खरिद गर्न सकेनौँ। अहिले विद्युत निर्यात घटेको छ‚’ उनले भने‚ ‘करिब २५० देखि ३०० मेगावाट मात्रै निर्यात भइरहेको छ। अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गर्ने हो‚ बाँकी रहेको विद्युतमात्रै निर्यात गर्ने हो।’

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्