दशैंको अग्रिम टिकट बुकिङ बन्द नहुने, बाटो खुल्ने छैन अत्तोपत्तो 

मंगलबार, असोज १५, २०८१

यातायात व्यवसायी महासंघको नेतृत्वले मंगलबार बिहान ‘दशैंको अग्रिम टिकट बुकिङ बन्द हुन सक्छ ।’ भन्ने भनाई सार्वजनिक गर्यो।यातायातका अगुवाले नै यस्तो बताएपछि दशैंमा घर जान पाइन्न कि भन्ने मानिसहरुलाई पर्नु स्वाभाविकै थियो । तर, बेलुका यातायात व्यवस्था विभागमा भएको छलफलले टिकट बुकिङ बन्द नगर्ने निर्णय गरेको छ ।

मंगलबार विभागका महानिर्देशकको नेतृत्वमा आयोजित छलफलमा यातायात व्यवसायी, ट्राफिक प्रहरी कार्यालयका अधिकारी र यातायात मजदुर संगठनका प्रतिनिधिहरुको सहभागिता थियो । छलफलले बाटो अवरुद्ध भएता पनि दशैंको टिकट बुकिङ रद्द नगर्ने निर्णय गरेको छ ।

टिकट काटिसकेका यात्रुलाई प्राथमिकतामा राख्ने तर अग्रिम टिकट बुकिङ रद्द नहुने भएको छ। अग्रिम टिकट बन्द नगर्ने निर्णय भएको तर अत्यावश्यक बाहेक यात्रा नगर्न पनि बैठकले अनुरोध गरेको छ। 

दशैंमा बाटो खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको आश्वासनसँगै विभागमा भएको छलफलले अग्रिम टिकट बुकिङ बन्द नगर्ने निर्णय लिएको हो ।

असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण अवरुद्ध सडकमा अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरूलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयसँग अनुरोध गर्नेसमेत सरोकारवालाको बैठकबाट निर्णय भएको ।

दशैंको अग्रिम टिकट बुकिङ खुल्ला रहने भएता पनि बीपी राजमार्गको बाटो खुल्ने नखुल्ने अझै टुंगो भने छैन । यसतो अवस्थामा अत्यावश्यक परेको अवस्थामा बाहेक काठमाडौं उपत्यका बाहिर नजान र सकेसम्म काठमाडौंमै रहेर दशैं मनाउन यात्रुहरुलाई आग्रह गर्ने निर्णय भएको छ। 

वैकल्पिक मार्गहरूको पहिचान गरी ठुला सवारी साधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटोहरू छनौट गर्ने र लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले आफ्नो सवारीमा अत्यावश्यकता प्राथमिक स्वास्थ्य उपचारका सामाग्री, पिउने पानी लगायतको व्यवस्था गर्ने निर्णय गरेको छ ।

विभागमा भएको छलफलपछि जारी संयुक्त अपीलमा भनिएको छ, ‘सडकमा पहिरो आई वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरुलाई यथाशिघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने साथै विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवम् जोखिम न्यूनीकरण गर्न अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा गर्ने परे सावधानी एवं सतर्कता अपनाउनु हुन सर्वसाधारणलाई अनुरोध गर्ने ।’

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्