जसले अवहेलनाको मुद्दा दायर गर्यो उसैले फिर्ता लिने

बिहीबार, असोज १७, २०८१

सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनाको मुद्दा फिर्ता लिने भएको छ। 

उपरजिष्ट्रार गोविन्द घिमिरेले सामाजिक सञ्जालमाबाट मुद्दा फिर्ता लिने बताएका हुन्।

‘बार एसोसिएसन जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो’  घिमिरेले फेसबुकममा लेखेका छन्।  अदालत खुल्नेवित्तिकै मुद्दा फिर्ताको प्रक्रिया अघि बढाउने उनको भनाइ छ। आफ्ना भनाइहरु पनि त्यही बेला औपचारिक रुपमा राख्ने उनले उल्लेख गरेका छन्। 

न्यायपरिषद्को न्यायाधीश सिफारिस सम्बन्धी निर्णयमाथि आलोचना गरेको विषयलाई लिएर बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको थियो। मुद्दाको पेसी कात्तिक १ लाई तोकिएको थियो।

सर्वोच्च अदालतका सूचना अधिकारीसमेत रहनुभएका उपरजिस्ट्रार गोविन्द घिमिरेले ल्याएको अवहेलनाको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध मुद्दा चलाइएको हो। मुद्दामा घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध भ्रामक र आधारहीन अभिव्यक्ति दिएको दाबी गरिएको छ।

उपरजिष्ट्रार घिमिरेले सामाजिक सञ्जालमा आफू जीवनभर प्रजातन्त्रका लागि काम गरेको उल्लेख गर्दै कसैको प्यादा नबन्ने समेत उल्लेख गर्नुभएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्