इतिहासमै पहिलोपटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात

बिहीबार, असोज १७, २०८१

नेपालले ५ महिनामा बंगलादेशमा बिजुली बेचेर १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्ने भएको छ। वर्षायाममा खेर जाने बिजुली भारत हुँदै तेस्रो मुलुक पठाएर आम्दानी गर्ने भएको हो। 

तेस्रो मुलुकमा यो नेपालको पहिलोपटक बिजुली निर्यात हुनेछ। यसअघि सन् २०२१ मेबाट भारतमा निर्यात व्यापार थालेको नेपालले ३ वर्षपछि अर्थात् २०२४ मा बंगलादेशमा पनि निर्यात गर्नलागेको हो। 

बिहीबार काठमाडौंमा ४० मेगावाट विद्युत् व्यापारको ऐतिहासिक सम्झौता भएको छ। नेपालका ऊर्जामन्त्री, बंगलादेशकी वातावरणमन्त्री र भारतीय राजदूतको उपस्थितिमा काठमाडौंमा विद्युत् निर्यातको लागि त्रिपक्षीय सम्झौता भएको हो।

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)की प्रमुख कार्यकारी अधिकृत रेणु नराङ र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष रिटेल करिमले हस्ताक्षर गरेका छन्। 

नेपाल र बंगलादेशबीच भूगोल नजोडिएका कारण भारतीय मार्ग हुँदै बिजुली पठाउनुपर्छ। सोही कारण भारतीय प्रसारणलाइनमार्फत बंगलादेशले नेपालको बिजुली लैजानुपर्ने अवस्था भएकाले त्रिपक्षीय सम्झौता गर्नुपरेको हो। 

बिहीबार सम्झौतामा हस्ताक्षरसँगै नेपाल, भारत र बंगलादेशका सरकारी उच्च अधिकारीहरुले क्षेत्रीय विद्युत् व्यापारमा कोशेढुंगा साबित भएको बताए। 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय ऊर्जा सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा भएको बताए।  

‘नेपालले इतिहासमै पहिलोपटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात भएको छ’, मन्त्री खड्काले भने, ‘यो उपलब्धि सन् २०१८ देखि नेपाल र बंगलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो।’

उनले नेपालमा उत्पादित विद्युत् सीमापार प्रसारणलाइनबाट बंगलादेश पुग्नका लागि सहज बनाउन भारत सरकारले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे। 

नेपालका लागि बंगलादेशका राजदूत सल्लाउद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशले उस्तै किसिमका चुनौती भोगिरहेको बताउँदै सहकार्यबाटै अघि बढ्नु आवश्यक रहेको बताए।

‘नेपालले वैकल्पिक बजार खोजिरहेको र बंगलादेशले विद्युतको स्रोत खोजिरहेको थियो। दुई देशको सहकार्यबाटै यो सम्भव भएको हो’, चौधरीले भने, ‘भारतले आफ्नो प्रसारणलाइन प्रयोग गर्न दिएकोमा धन्यवाद।’

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले क्षेत्रीयरुपमा विद्युत् व्यापारमा सहकार्य बढाएको बताए। ‘भारत क्षेत्रीय कनेक्टिभिटीको लागि सधैँ तयार छ’, उनले कार्यक्रममा भने, ‘विद्युत् उत्पादन र व्यापारमा सहकार्यबाटै अघि बढ्न सक्छौँ।’

नेपालमा हाइड्रोमा लगानी गर्नका लागि वातावरण बनेको उनको भनाइ थियो। नेपालको विद्युत् भारतमा मात्रै नभई बंगलादेश निर्यात गर्न थालेकाले लगानी बढ्ने राजदूत श्रीवास्तवले बताए। 

बंगलादेशकी आन्तरिक सरकारकी सल्लाहकार सइदा रिजवाना हसनले क्षेत्रीय विद्युत् व्यापारमा यो सम्झौता आफैँमा एक कोशेढुंगा पार भएको बताइन्। 

नेपाल विद्युत् प्राधिकरणले मुजफ्रपुर सबस्टेसनबाट ४० मेगावाट विद्युत बंगलादेश पठाउनेछ। निर्यातको अवधि प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म हुनेछ।

‘विद्युत् व्यापारमा ‘नयाँ माइल स्टोन’ पूरा गरेका छौँ’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘भारतीय प्रसारणलाइन हुँदै तेस्रो मुलुकमा विद्युत् पुग्नु ठूलो विषय हो।’

घिसिङका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ। योसँगै ६.४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री हुनेछ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन हुँदै जानेछ। 

दुई देशको बिजुली व्यापारमा एनभीभीएनले व्यापारिक भूमिका निर्वाह गर्ने घिसिङको भनाइ छ। एनभीभीएनले नेपालबाट निर्यात भएको विद्युत् र बंगलादेश पुगेको विद्युतको तथ्यांक राख्नेछ। 

‘मुजफ्फरपुर सबस्टेसनसम्म ४० मेगावाट पुर्‍याउने दायित्व नेपालको हुनेछ। त्यहाँबाट भारतीय प्रसारणलाइन प्रयोग गरेको शुल्क र विद्युत् चुहावटको घाटा बंगलादेशले व्यहोर्नेछ’, उनले थपे, ‘हरेक वर्ष १४४ मिलियन (१४ करोड ४० लाख) युनिट विद्युत् बंगलादेशमा निर्यात हुनेछ।’ 

यसबाट नेपालले वार्षिक ९.२ मिलियन (९२ लाख) अमेरिकी डलर वार्षिक आम्दानी गर्नेछ। सन् २०२१ मेबाट नेपालले भारतमा विद्युत् निर्यात गर्न थालेकामा तेस्रो देशमा विद्युत् निर्यात गर्ने नेपाल पहिलो देश भएको घिसिङले उल्लेख गरे। 

‘विद्युत् व्यापार सम्झौताले विश्वासको आधारमा तेस्रो देशमा सहजै सम्बन्ध बनाउने ढोका खुलेको छ’, घिसिङले भने। 

मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर– भेडामारा चार सय केभी बिजुली बङ्गलादेश पुग्नेछ। प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बङ्गलादेश निर्यात गर्ने तयारी गरेको छ। 

बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ।

नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट जलविद्युत् उत्पादन गर्ने योजना बनाएको छ। त्यसमा १५ हजार मेगावाट निर्यात गर्नुपर्ने आवश्यकता छ। बिहीबारको सम्झौताले नेपालले जति विद्युत् उत्पादन गरे पनि विद्युतको बजार सुनिश्चित देखिएको छ।

गत वर्ष नै नेपालले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यातको लागि सम्झौता गरिसकेको छ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्