सोसल मिडिया
युनिकोड
धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि आज शुक्रबार निर्धारित अन्तर्वार्ता अचानक स्थगित गरिएको छ।
यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अनुपस्थित हुँदा फेरि स्थगित भएको हो ।
छनौट समितिका अध्यक्षसमेत रहेका अधिकारी अर्थमन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाईए पनि पुगेनन् ।
त्यसैगरी अन्तर्वार्ताका लागि सर्टलिस्टमा रहेका तीनैजना उम्मेदवार पनि शुक्रबार अर्थमन्त्रालय पुगेनन् । त्यसपछि दोस्रो पटकको अन्तर्वार्ता तालिकामा पनि स्थगित भएको हो ।
अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेप्सेका सीईओ कृष्णबहादुर कार्की सर्टलिस्टमा थिए ।
उनीहरू तीनैजनाले शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति गर्ने तालिका थियो । तर छनौट समितिका अध्यक्ष अधिकारी नै अनुपस्थित रहेपछि उम्मेदवारहरू पनि सहभागी नहुँदा दोस्रो पटक अन्तर्वार्ता रोकिएको हो ।
आज बिहान ८ बजे मन्त्रालयमा अन्तर्वार्ता तथा प्रस्तुतीकरण गर्ने भनिए पनि अन्तर्वार्ता लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी नै अनुपस्थित भएपछि प्रक्रिया रोकिएको हो। डा अधिकारीलाई डेंगीभएपछि उनी अस्पताल भर्ना भएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार अन्य सिफारिस समितिका अन्य दुई सदस्य उपस्थित भए पनि डा अधिकारी अनुपस्थित भएपछि अन्तर्वार्ता रोकिएको हो । अब दशैंपछि मात्र अन्तवार्ता हुने स्रोतले जनाएको छ ।