मन्त्रिपरिषद् बैठकले यी १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्यो 

शुक्रबार, असोज १८, २०८१

सरकारले बाढी पहिरो प्रभावित केही जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुर, काभ्रेपलाञ्चोक, धादिङसहितका जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको एक मन्त्रीले बताए। सरकारले बाढी, पहिरोबाट प्रभावित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। 

बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षति पुर्‍याएको क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको ती मन्त्रीको भनाइ छ। शुक्रबार नै बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो। बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १६९ जना घाइते र १८ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। 

बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनर्स्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिनेगरी स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ । 

प्राधिकरणका सहसचिव अधिकारीले भने, ‘विशेष गरी अस्तिको १० गते पछिको ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो । हामी स्थानीय तहको पनि संख्या तोक्छौँ । अहिले मैले अघि भनेअनुसारको जिल्लामा ऐनको दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिनेछ ।’ 
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्