बाढीले ऊर्जातर्फ ४ अर्ब र सिँचाईतर्फ १ अर्ब ३५ करोड क्षति पुर्याएको उर्जामन्त्रीको भनाई 

शुक्रबार, असोज १८, २०८१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपद्ले ऊर्जातर्फ ४ अर्ब र सिँचाईतर्फ १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन्।

शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले मन्त्रालयअन्तर्गतका २१ वटा आयोजनामा क्षति पुगेको बताए। उनले ऊर्जातर्फ ४ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए।

सिँचाइतर्फ १ अर्ब ३५ करोड रुपैयाँभन्दा माथि क्षति भएको अनुमान रहेको जानकारी उनले दिए। क्षति अझै बढ्ने उनको भनाई छ। ‘२१ वटा आयोजनामा क्षति पुग्यो। सिँचाइतर्फ झन्डै १ अर्ब ३५ करोडको क्षति भयो भन्ने अनुमानित फिगर आएको छ। दिनैपिच्छे यो बढ्ने क्रम जारी छ‚’ उनले भने‚ ‘ऊर्जातर्फ ४ अर्बभन्दा बढीकै क्षति भएको अनुमान गरेका छौँ। तत्कालै ११ सय मेगावाट विद्युत अवरुद्ध हुँदा पनि अध्याँरोमा बस्नु नपरोस्‚ लोडसेडिङ नहोस् भनेर रातदिन काम गरिराखेको अवस्था छ।’

मन्त्री खड्काले विपदबाट ११ सय मेगावाट विद्युत अवरुद्ध भएको र मर्मतको प्रयास भइरहेको बताए। उनले लोडसेडिङ हुन नदिन काम गरिरहेको पनि बताए।

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सडक सञ्जाल टुटेका कारण विद्युत अवरोध भएको स्थानहरुमा मर्मतसम्भार गर्न गाह्रो भएको बताए। 

विद्युत चाँडै पुर्‍याउनेगरी काम गरिरहेको उनको भनाई छ। उनले दशैँअगाडि नै विद्युत पुर्‍याउनेगरी काम गरिरहेको बताए।

‘विकट ठाउँहरुमा पनि दशैँअगाडि कसरी पुनःस्थापना गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ। हामीसँग ट्रान्सफर्मर स्टोर नभएको भए हालत अर्कै हुन्थ्यो। विपद्का बेलामा चाहिने सामान पनि हामीसँग छ‚’ उनले भने‚ ‘सामान भएको कारणले चाँडै पुनःस्थापना गर्नसक्छौँ। मुख्य समस्या बाटोको मात्रै हो। पोल बोकेर १० किलोमिटर लान नसकिने तर हामी चाँडै खुलाउन लागिरहेका छौँ।’ 

उनले कुलेखानी बाँधले निम्त्याएको क्षतिको सम्बन्धमा विवरण संकलन गरिरहेको भन्दै क्षतिको यकिन गरेर आवश्यक कदम चाल्न विभागीय मन्त्रीसँग छलफल गर्ने बताए।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २२:०७
प्रतिक्रिया दिनुहोस्