राजेन्द्रको धवल बल्छीले पशुपतिको ससुराली यात्रा रोकियो

शनिबार, असोज १९, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकाएक हलचल मच्चिएको छ। र, त्यसरी हलचल मच्चाउने पात्र अरू कोही नभएर स्वयम् पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन हुन्। बिहीबार लिङ्देनले महामन्त्री डा. धवलशमशेर राणालाई सङ्गठन विभाग प्रमुखबाट हटाएर बुद्दिमान तामांगको बाहुलीमा सो जिम्मेवारी सारेपछि लफडा मच्चिएको हो। 

उपचारका लागि धवल भारत गएको छेको पारेर उनलाई हटाएपछि विवाद निम्तिएको हो। त्यसको असर राप्रपा नेता पशुपतिशमशेर राणा सम्मलाई परेको छ। पार्टीमा समस्या नभएको भए पशुपति शुक्रबार नै भारत पुग्ने कार्यक्रम तय भएको थियो  । ससुराली भारत रहेका राणा दसैँअघि भारत पुगेर फर्किने मुडमा थिए। तर,अकस्मात राजेन्द्रले जिम्मेवारी खोसेपछि उनले ससुराली यात्रा रोकेका छन्। 

उनलाई शुक्रबार धवलपक्षीय पार्टीको दोस्रो तहका नेताहरूको ठूलो पंक्तिले भेटेर सङ्गठन विभाग प्रमुखबाट धवललाई हटाउने अध्यक्ष लिङ्देनको कदमले पार्टीमा विभाजनको रेखा कोर्न सक्ने भन्दै चिन्ता प्रकट गरे । भेटमा सहभागी एक नेताका अनुसार पशुुपति पनि चिन्तित देखिएका थिए ।

राप्रपामा पछिल्ला दिनमा पार्टी नै विभाजन हुने गरी अन्तरसङ्घर्ष चुलिएको छ । अध्यक्ष लिङ्देनले पार्टीमा इतरपक्षको नेतृत्व गर्ने महामन्त्री डा. धवलमाथि कारबाहीको डण्डा चलाएका छन् । उनको सङ्गठन विभाग प्रमुखको जिम्मेवारी खोसिएको छ । आफूनिकट पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङलाई सङ्गठन विभाग प्रमुख बनाएका छन् । 

प्रतिक्रियामा राणापक्षबाट चर्को असन्तुष्टि प्रकट भएको छ । राणा पक्षमै रहेका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनको कदमलाई ‘अविवेकी र अमानवीय निर्णय’ भनेका छन् । बिरामी भएर अस्पतालको शय्यामा उपचाररत अध्यक्ष लिङ्देनको राणालाई तनाव दिएको अथ्र्याएका छन् ।

यही विषयलाई लिएर पार्टीमा तनाव उत्पन्न भएपछि पछिल्लो समय मध्यमार्गी धारमा रहेका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले भारत यात्रा रद्ध गरेका हुन् । 

सङ्गठन विभाग पार्टीको मेरुदण्ड हो। यता,पार्टीको केन्द्रीय, कार्यसम्पादनदेखि पदाधिकारीसम्मै लिङ्देन बहुमतमा छैनन् । धवल हटाएको बिषयलाई लिएर पार्टीमा अन्तरसङ्घर्ष बढ्दो छ । महामन्त्री राणा भने भारतको टाटा मेमोलियल हस्पिटलमा गिजाको क्यान्सर देखिएपछि उपचाररत छन् । उनी भारतमै छँदा सङ्ठन विभाग प्रमुखबाट हटाइएका हुन् । यसले पशुपति माथि थप दबाब बढाएको छ। 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्