सोसल मिडिया
युनिकोड
बडादसैँ सुरु भएसँगै राजधानी काठमाडौँबाट बाहिरिने यात्रुको चाप निरन्तर बढिरहेको छ । सवारी साधनको संख्या बढेकाले नयाँ बसपार्क गेट र माछापोखरी हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।
यता ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।
ललितपुरकै एकान्तकुनाबाट महालक्ष्मीस्थान तर्फ सर्भिस लेन भएर आउने सवारी साधनलाई मुख्य लेनबाट चलाइएको छ । सडकमा खाल्डो परेकाले सवारी साधनलाई हिजोदेखि मुख्य लेनबाट चलाइएको हो ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको खोर्सानी खोलामा सडक भासिएकाले सवारी साधन एक लेनमा आलोपालो सञ्चालन भइरहेका छन् । नदि तथा खोलाले सडक कटान गरेका कारण विपी राजमार्ग तथा विभिन्न स्थानमा खसेको पहिरो पन्छाउने कार्य भइरहेकाले फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।
यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थान तथा अन्य नाकाहरुको सवारी आवागमन भने सामान्य रहेको छ ।