सोसल मिडिया
युनिकोड
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि आइतबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
यसअघि विश्वासको मत लिनका लागि मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । एमाले, माओवादी केन्द्र र राजीव गुरूङ (दीपक मनाङे)को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।
सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेको थिए । उक्त रिट सर्वोच्च वैशाख १७ गते खारेज गरिदिएको थियो ।