सोसल मिडिया
युनिकोड
इलाम- २ मा वैशाख १५ भएको उपनिर्वाचनका उपविजेता डम्बर खड्काले मतदाता प्रति आभार व्यक्त गरेका छन्। नेपाली कांग्रेस इलामका पार्टी सभापति समेत रहेका खड्का कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए।
उनी एमालेका सुहाङ्ग नेम्वाङ्ग संग पराजित भएका हुन्। सामाजिक संजाल मार्फत उनले सबैप्रति हृदयदेखि नै धन्यवाद ब्यक्त गरेका छन् भने निर्वाचित नेम्वाङ्गलाई बधाई तथा शुभकामना दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्-
आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु ! इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत रुख चिन्हमा दिनुहुने इलाम–२ का आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु ।
विजयको झन्डा फहराउने आशा राखी अहोरात्र भोक, तिर्खा र निन्द्रा केहि पनि नभनी खटिनुहुने इलाम जिल्ला सहित अन्य जिल्ला अनि केन्द्रिय समिति , पार्टीका नेता,कार्यकर्ता अनि देश-बिदेशमा रहेर विभिन्न माध्यम बाट सहयोग र शुभेच्छा प्रकट गर्नुहुने प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्नुहुने सबैसबैमा हार्दिक आभार र धन्यवाद प्रकट गर्दछु । सञ्चारकर्मी मित्रहरु, निर्वाचन सम्पन्न गराउने कार्यका लागि निरन्तर लाग्नुभएका प्रशासन, सुरक्षाकर्मी र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
विजयी हुनुभएका ने.क.पा. एमालेका उम्मेदवार सुहाङ नेम्वाङ लाई सामाजिक संजाल देखि प्रत्यक्षरुपमा भेटेर पनि मैले बधाई तथा शुभकामना दिईसकेको छु । धेरै पछाडि परेको यस क्षेत्रको समुचित विकासका लागि उहाँले चाल्ने हरेक सकारात्मक कदममा मेरो पुर्ण साथ र सहयोग रहने बाचा पनि गर्दछु।
पार्टीका नेता कार्यकर्ताहरुलाई कत्ती पनि बिचलित नहुनुहुन आग्रह गर्दछु। समाजमा निरन्तर सत्कर्म गरे एकदिन गन्तव्यमा पुगिने निस्चित छ यस तर्फ सबै लागौं। ठूलो मतान्तर सहितको गठबन्धन अनि केही प्राविधिक कारणले गर्दा हजुरहरुको अगाध माया, स्नेह, गहिरो विश्वास र भरोसालाई विजयमा परिणत गर्न-गराउन सकिन क्षमा चाहन्छु यद्यपि इलामको माटोको कसम खाएर फेरि पनि भन्छु म मेरो पार्टी र मलाई बिश्वास गरेर दिएका एक एक मतको मूल्य चुक्नदिने छैन निरन्तर तपाईंहरुका साथमा रहेर सुखदुःखमा साथ दिने नै छु अनि यस क्षेत्रको शुसासन,विकास र समृद्धिका लागि निरन्तर खबरदारी गरिरहने बाचा गर्दछु । जय नेपाल !
तपाईं हरुको साथी डम्बर खड्का इलाम