करिष्मा हुँदाहुँदै पूजातिर सल्किएका एमाले नेता पासाङलाई अदालतले ठोक्यो काँजो

बुधबार, असोज २३, २०८१

संबिधानसभा सदस्य समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई उच्च अदालत पाटनले बहुविवाहमा दोषी ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले असोज ६ गते शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको हो ।

शेर्पालाई उच्च अदालतले बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना ठहर गरेको छ । उच्चले जिल्ला अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत काठमाडौँले २०७९ चैत २३ गते उनलाई दोषी ठहर गरेको थियो । 

पहिलो श्रीमती करिष्मा खरेल शेर्पाले कुटपिट, अंशसहित बहुविवाहमा मुद्दा दायर गरेकी थिइन् । उनको निवेदनमा उच्चले सुरुमा सदर गर्ने फैसला सुनाएको हो ।  

खरेलले शेर्पा पासाङसहित कान्छी श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौँमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा जिल्ला अदालतले बहुविवाह भएको ठहर गरेको थियो । जिल्लाले पासाङ शेर्पा र करिश्मा खरेलसँग २०६१ असारमा र पुजासँग २०६३ मा विवाह गरेको ठहर गरेको थियो । 

जिल्ला अदालत काठमाडौँले शेर्पाले पहिलो श्रीमतीसँग सम्बन्ध कायमै भएको अवस्थामा दोस्रो विवाद गरेको ठहर गर्दै एक वर्ष कैद पनि सुनाएको थियो । मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको ठहर जिल्लाले गरेको हो । 

उक्त ऐनमा यस्तो कसुर गर्नेलाई १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने उल्लेख छ । शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि त्यसलाई सदर गरेको छ । उनले आफूले श्रीमती भएको थाहा पाएर विवाह नगरेको बयान दिएपछि सफाइ दिएको हो ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्