सोसल मिडिया
युनिकोड
दशैंको छेको पारेर नेकपा एमालेले पार्टी कार्यालयका लागि नयाँ भवन बनाउन थालेको छ। जसका लागि एमालेलाई भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङले जमिन उपलब्ध गराएका छन्।
सरकार नेतृत्वकर्ता एमालेले आज केन्द्रीय कार्यालयको शिलान्यास गरेको हो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक विधिअनुसार कीर्तिपुर नगरपालिका–२ मा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता/कार्यकर्ताको उपस्थिति थियो।
एमालेले पार्टी सदस्यहरूको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने जनाएको छ। तर भवन निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च उनै गुरुङले व्यहोर्ने श्रोतको भनाई छ। गुरुङले १० रोपनी १४ आना जग्गा दिएका हुन्।
२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका–१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो। हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउन लागिएको एमालेको भनाइ छ।
बिहीबार बसेको एमाले सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको हो। जग्गादाता गुरुङले बाढी पिडितलाई पाँच करोड दिएकै दिन एमालेलाई जग्गा दिने वचन दिएका थिए। लगत्तै ओलीले पार्टीको बैठक डाकेर भवन शिलान्यास गर्ने साईत जुराएका हुन्। प्रचण्ड सरकारले गुरुङलाई ललितानिवास जग्गा प्रकरणमा थुन्दा ओलीले गुरुङको बचाउ गर्दै प्रचण्डको उछितो काढेका थिए।