सोसल मिडिया
युनिकोड
आगामी बिहीवार घरेलु मैदानमा शुरु हुने साफ महिला फुटबल च्याम्पियनशिपको तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार पत्रकार सम्मेलन गरेर तयारी पूरा भएको जनाएको छ।
यसै साफ च्याम्पियनशिपका लागि २३ सदस्यीय नेपाली महिला टोली सोमवार नै घोषणा भइसकेको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणबाट टोली घोषणा गरेका हुन्।
च्याम्पियनशिपमा सहभागी ७ राष्ट्रमध्ये भारत र भूटान बुधवार विहान आउनेछन्। पाकिस्तान, माल्दिभ्स, श्रीलंका र बंगलादेश भने नेपाल आइपुगिसकेका छन्।
एन्फाले टिकटको मूल्य साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय रूपैयाँ तोकेको छ। एन्फाका प्रवक्ता सुरेश शाहले नकआउट चरणका लागि भने साधारणतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रुपैयाँ तय गरेको बताए।
उनले १० वर्षसम्मका बालबालिकालाई निःशुल्क प्रवेश दिइने बताए। मिश्रले १० वर्षभन्दा माथि उमेरका बालबालिकाका लागि भने टिकट लाग्ने स्पष्ट पारे।
आयोजक नेपालले भने कात्तिक २ गते भूटानसँग खेल्दै घरेलु मैदानमा साफ च्याम्पियनशिपको शुरुआत गर्ने भएको छ।
हाल विदेशी लिग खेलिरहेका रेखा पौडेल र सावित्रा भण्डारीको टोलीमा समावेश नहुने चर्चा चलिरहेको थियो। एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले रेखा आइसकेको र सावित्रा दोस्रो खेलभन्दा एक दिनअगाडि नेपाल आउने बताएका छन्।
यस्तो अवस्थामा उनलाई दोस्रो खेल खेलाउने या नखेलाउने प्रशिक्षकमाथि नै भरपर्ने उनको भनाइ छ।
खेल प्रतिष्पर्धात्मक हुने दशरथ रंगशाला र अभ्यास गर्ने खेल मैदान पूर्णरूपमा तयार रहेको मिश्रले बताए। उनले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिलाई एन्फाले कुल ८० लाखमा टिकेटिङ राइट्स बिक्री गरेको बताएका छन्।
आगामी कात्तिक १ देखि १४ गतेसम्म नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनशिप हुँदै छ। यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले १/१ पल्ट यसको आयोजना गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
कुल ७ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा छ। यो समूहमा श्रीलंका माल्दिभ्स र भूटान गरी ४ राष्ट्र छन्। अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ।
च्याम्पियनशिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दै छन्। हालसम्म नेपाल ५ पल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन।
भारत महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली हो। भारतले ५ पटक उपाधि उचाल्दा गत संस्करणमात्र बंगलादेशले जितेको छ।
च्याम्पियनशिपमा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ।
एञ्जिलाको कप्तानीमा नेपाली टोली
साविकको उपविजेता नेपालले सोमवार महिला साफ च्याम्पिनशिप खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको थियो। मुख्य प्रशिक्षक तामाङले एञ्जिला तोम्बाप्पो सुब्बाको कप्तानीमा राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन्।
फरवार्डमा सावित्रा भण्डारीसहित रेखा पौडेल, अनिता केसी र रश्मिकुमारी घिसिङ छन्। मिडफिल्डमा रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिशा कार्की र विमला चौधरी छन्।
डिफेन्समा गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर छन्। गोलकिपरमा कप्तान एञ्जिलासँगै अन्जना रानामगर र उषा नाथले स्थान बनाएका छन्।