पार्टी कार्यालय बनाउन दान लिनु गलत रहेको टिप्पणी गर्दै विश्वले ओलीको झाँको झारे

बुधबार, असोज ३०, २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) ले पार्टी कार्यालय बनाउन दान लिनु गलत रहेको टिप्पणी गरेका छन् । महामन्त्री शर्माले दान दिने भए देशलाई ऋणमुक्त बनाउन साथ दिन आह्वान गरेका छन् । पार्टी कार्यालय प्रत्येक सदस्यको योगदानले बन्नुपर्ने उनको भनाइ छ ।

व्यवसायी मिनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि १० रोपनी १४ आना जग्गा दान गरेका थिए । उक्त विषय अहिले विवादमा तानिएको छ । एमालेका नेताहरु स्वयंले यो विषयमा असन्तुष्टि व्यक्त गर्न थालेका छन् । यसैबीच कांग्रेस महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन् । उनले समाजिक सञ्जालमार्फत भनेका छन्ः

स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्य गर्व गर्छन् । हाम्रो केन्द्रीय कार्यालय हामीले बनाएका हौं । कयौं व्यवसायीको ससानो धन पनि यो निर्माणमा सरिक छ । तर, मुलत यसमा पार्टी सदस्यको मन जोडिएको छ । श्रमिक, किसान, सयौं शुभचिन्तक एवं समर्थकको अपनत्व र स्वामित्व यसमा छ ।

त्यसबेलाका ४ लाख बढी कृयाशिल सदस्यको सदस्यताको रकम यसमा प्रयोग भएको छ । सामाजिक न्याय सहितको उदार अर्थव्यवस्थाको नितिलाई फराकिलो अभ्यासमा काँग्रेसले अघि बढायो । जसले गर्दा निजि क्षेत्रको तीब्र विकास सहज बन्यो । आज भारत र बंगलादेशलाई बिजुलि बेच्न सक्ने अवस्थामा देशलाई पुर्‍याउन निजि क्षेत्रको उल्लेखनिय भुमिका छ ।

हाल उत्पादित ३१३० मेगावाटमध्ये २४९५ मेगावाट विद्युत उत्पादन निजि क्षेत्रले गरेको छ । एयरलाइन्सहरु, दर्जनौं बैंक र वित्तीय संस्थाहरु, कयौं अस्पताल र सयौं उधोग, शैक्षिक प्रतिस्ठानहरु, संचार)उधमहरु, होटल आदिमा निजि क्षेत्रले खर्बौं रुपैयाँ लगानी गरेको छ ।

यसबाट सिंगो देश लाभान्वित छ । काँग्रेसले देश लाभान्वित हुने नीति लिएर निजि क्षेत्रलाई प्रोत्साहित गर्‍यो । निजिक्षेत्रलाई थप प्रोत्साहित गर्दै देशको ढुकुटीमा राजस्व बढाउने र रोजगारी सृजनाको दायरा विस्तारित गर्ने कार्य यतिबेला राज्यको बिशेष प्राथमिकतामा रहनुपर्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निजिक्षेत्रले गरिरहेका कार्यमा राज्य र राजनैतिक दलले भन्नैपरे । भुकम्प प्रभावितलाई हजार घर बनाइदेउ । गाउँमा शैक्षिक संस्था र स्वास्थचौकिका भवनहरु बनाइदेउ । अनि बनाइदेउ बाढिले नबग्ने सय पुल । अनि बनाउ एउटा आकर्षक रंगशाला ।

्अझ ठुलो दान लिने दिने भए देशलाई ऋणमुक्त बनाउन साथ देउ । यस्तो पनि त भन्न मिल्छ । तर जहाँसम्म पार्टी कार्यालयहरुको कुरा छ, त्यो चैं मुलत पार्टी सदस्यहरुले मिलेर बनाउनु पर्छ । मुठ्ठी बटारेर आकाशमा उचाल्नेहरु, प्रत्येकले आफ्नो केन्द्रीय कार्यालय बनाउन एकएक मुठ्ठीको योगदान गर्न पाउनुपर्छ । भवन बलियो भावनाहरु गाँसेर हुनुपर्छ । मेरो पनि योगदान छ भनेर प्रत्येकले अपनत्व बोध गर्न पाउनुपर्छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्