सुशासनका मामिलामा खानेपानी मन्त्री कठोर, छड्के हान्दा के भेटे कैफियत ?

बुधबार, असोज ३०, २०८१

खानेपानीमन्त्री प्रदीप यादवले बुधबार मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के (अनुगमन) गरेका छन्।

नेपाल सरकारले प्रदान गरेको दसैं बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन भइसक्दासमेत विभिन्न कार्यालयहरूमा कर्मचारीहरू उपस्थित नहुने गरेको गुनासो आउन थालेपछि मन्त्री यादवले मन्त्रालय र विभागका सम्पूर्ण शाखामा छड्के अनुगमन गरेका हुन्।

उक्त अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुई जना गरी १३ जना बिना सूचना गैरहाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए। 'मन्त्रीज्युले आज अकस्मिक छड्के जाँच गर्नुभएको थियो। सो क्रममा मन्त्रालय र विभागमा गरी १३ जना गैरहाजिर भएका भेटिनुभएको छ। गैरहाजिर हुनुको कारण बुझनुपर्ने हुन्छ,' उनले भने।

यसैगरी मन्त्री यादवले छड्के जाँचका क्रममा मन्त्रालयमा तथा विभागमा हाजिरी अवस्थामा भेटिएका कर्मचारीलाई काम गर्दा हुने गरेका समस्याका विषयमा जानकारीसमेत लिएका थिए। उक्त छड्के अनुगमनका क्रममा मन्त्री यादवले काम गर्दाको समय होस् वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउनसमेत कर्मचारीहरूलाई आग्रह गरे। 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्