सोसल मिडिया
युनिकोड
सहकारी ठगीबारे छानबिन गर्न गठन गरिएको संसदीय छानबिन समितिको प्रतिवेदन र त्यसै प्रतिवेदनका आधारमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालकमध्येका एक पूर्व डीआईजी छविलाल जोशीको बयानका आधारमा रवि लामिछाने पक्राउ परेका छन् ।
रविलाई पक्राउ गर्न अनुमतिका लागि शुक्रबार कास्की प्रहरी जिल्ला अदालत पुगेको थियो । त्यसका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया आफैँ पक्राउ अनुमतिका लागि अदालत पुगेका थिए । प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पक्राउ अनुमति मागेको थियो । जसलाई सदर गर्दै कास्की जिल्ला अदालतले यी दुई कसुरमा पक्राउको अनुमति दियो ।
यता काठमाडौंमा लामिछाने पार्टी केन्द्रीय कार्यालयमै थिए । पक्राउको तयारी गरिएको जानकारी पाएपछि रास्वपाका नेताहरू छलफलमा थिए ।
कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली रास्वपाको केन्द्रीय कार्यालय पुगेको थियो । छलफलमा रहेका रास्वपाका नेताहरूले प्रहरीसँग समन्वय पनि गरिरहेका थिए । उनीहरूले सुरक्षाकर्मीको टोलीलाई आफूहरूले कुनै पनि प्रकारको प्रतिवाद नगर्ने तर पार्टी सभापति लामिछानेलाई छोटो सम्बोधन गर्न दिनुपर्ने बताएका थिए । त्यसमा प्रहरी सहमत भएपछि रास्वपाका नेताहरूले सार्वजनिकरूपमै प्रहरीलाई कुनै प्रतिवाद नगर्न आह्वान गरेका थिए ।
त्यसैले हुनुपर्छ, रास्वपाको कार्यालयमा ठूलो संख्यामा समर्थक उपस्थित भए पनि प्रहरीलाई प्रतिवाद गरेनन् । लामिछाने पक्राउ पर्दा सरकारविरुद्ध नाराबाजी भने भएको थियो । उनलाई शुक्रबार नै स्थलमार्गबाट पोखरा लगिँदै छ ।
रवि लामिछाले सम्बोधनका क्रममा के भने ?
मैले भन्नुपर्ने कुरा केही पनि छैन । एउटा कुरा चाहिँ भन्न चाहन्छु, यदि उनीहरूले जस्तै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला, तर हामीले कुनै पनि सम्झौता गरेनौँ ।
जुन दिन सरकार ढाल्ने सम्झौता भएको थियो, त्यही दिन 'रविलाई जसरी पनि जेल कोच्छौँ चिन्ता नगर्नुस्' भन्ने सम्झौता उहाँहरूले गर्नुभएको सूचना मसँग छ । तर, कुनै पनि चिन्ता छैन । व्यक्तिका रूपमा मैले पाउनुपर्ने भन्दा धेरै पाइसकेको छु । तर, अभियानका रूपमा जब देशले एउटा आशा र भरोसा देख्दै थियो त्यो आशा र भरोसामाथि जुन प्रहार भएको छ, त्यो प्रहारलाई हामी सामना गर्ने छौँ । म कुनै पनि किसिमको न्यायिक जाँच दिनका लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु । तर, यो राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न पनि म अपिल गर्न चाहन्छु ।
म सम्मानित अदालतप्रति विश्वास गर्दछु । भन्न त यहाँ अदालत मिलाउँला तँलाई कहाँ छोडौँला र ? तँलाई चुनावी लड्न नसक्ने गरी र तेरो पार्टी नफुटाई छाड्दिनँ भन्ने प्रतिशोध साँधेर मान्छेहरू लागेका छन् भन्ने मलाई थाहा छ ।
तर, ती सबै चिजको सामना गर्ने साहस बोकेर हामी उभिएका छौँ । म व्यक्तिलाई साथ दिनुहोस् भनेर तपाईंहरूसँग अपिल गर्न चाहन्न । तर, अभियानका रूपमा नेपाली जनताले देखेको सपनालाई साथ दिनका लागि अनुरोध गर्न चाहन्छु ।
र, अन्तिममा यति मात्र भन्न चाहन्छु आदरणीय दाजुभाइ दिदीबहिनीहरू मैले कुनै पनि किसिमको अपराध गरेको छैन । अपराध नगर्दा पनि प्रतिवेदनले भन्दा पनि जुन राज्यले सम्पूर्ण शक्ति लगाएर जुन यो कार्य गरेको छ, यसलाई नेपाली नागरिकले हेरेका छन् भन्ने मैले विश्वास गरेको छु । तर, पनि न्यायिक प्रक्रियामा म सघाउने एउटा सचेत नागरिक भएको हुनाले म त्यसमा प्रतिबद्ध भएको जानकारी गराउँछु । यहाँहरू सबैलाई राज्यले गरेको यो दादागिरीको डटेर सामना गर्नको निमित्त पनि आग्रह गर्न चाहन्छु ।