ओलीका उपप्रधानमन्त्री सिंहले सय दिनमा केही गरिन अब गर्छु भन्दै सुनाए योजना

आइतबार, कात्तिक ४, २०८१

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिएको बताएका छन्।

आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताए।

उनले शहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै शुरु भएका कामहरुलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे। उनले मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि शहरहरु व्यवस्थित गर्ने काममा आफूहरु लागि परेको बताए।

उनले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि बताए। उनले सरकारले गरेका राम्रा कामहरु सञ्चारमाध्यमहरुले प्रशारण गर्न कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे।

उनले भने, ‘अहिले केही भएको छैन, के गरे यिनीहरुले भन्छ तर रिजल्ट देख्नलाई पनि त समय त लाग्दो रहेछ नि त। यो सय दिनमा हामीले त्यस्तो उल्लेखनीय काम नगरेकै हो भनेर म यहाँ भन्न चाहन्छु। तर कुरा के हो भने मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि हामीले शहरहरु व्यवस्थित गर्नको लागि, क्लाइमेटको अहिले त्यत्रो सनसनी भइरहेको छ। यो शहरहरुलाई सेफ गर्नको लागि गर्नुपर्ने कामहरु त्यसको लागि पोलिसीमा जोड दिएर हामी अघि बढ्नुपर्छ भन्नेकुरामा काम गरिरहेका छौँ। शहरी विकास मन्त्रालयबाट सय दिनमा नयाँ घोषणा गरेर सम्पन्न गरेको के हो? भन्नुभयो भने त्यो गाह्रो हुन्छ। म यहाँ आइसकेपछि पनि मैले यही मन्त्रालयसँग सम्बन्धित प्रेसलाई पनि टाइम टु टाइम मिट गरेर सुझाव मागेका छौँ। जे काम गर्छौं हामी खुला रुपमा गर्न चाहन्छौँ।'

उपप्रधानमन्त्री सिंहले धरहरा निःशुल्क रुपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार कम भएको प्रति असन्तुष्टि जनाए।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्