रविलाई हिरासतमा जाकेपछि उनका पार्टनरलाई हिरासतबाटै लगियो अस्पताल

आइतबार, कात्तिक ४, २०८१

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतबाट अस्पतालमा सारिएको छ । कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई हिरासत छलेर अस्पतालमा बस्ने सुविधा दिएका हुन् ।

असोज ६ मा काठमाडौँबाट पक्राउ परेका जोशी यसअघि हिरासतमा थिए । तर, कास्कीको प्रमुखको रूपमा सरुवा भएर असोज १४ मा हाजिर भएपछि प्रहरी उपरीक्षक ओलियाले उनलाई अस्पताल बस्ने सुविधा दिएका हुन् । जोशीलाई अहिले पोखरास्थित फिस्टेल अस्पतालमा राखिएको छ ।

यसअघि बिसन्चो भएको भन्दै जोशीले अस्पताल बस्ने प्रयास गरेका थिए । तर, तत्कालीन एसपी मोहन थापाले उनलाई अस्पताल बस्ने अनुमति दिएनन् । त्यसबेला स्वास्थ्य परीक्षण गराउँदा उनलाई निमोनिया देखिएको थियो । तर, अहिले निमोनिया मुक्त भएपछि पनि उनलाई अस्पताल राखिएको छ ।

असोज १५ बाट नै उनलाई अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले बताए । तत्कालीन गृहमन्त्री रवि लामिछानेले पक्राउ परेका व्यक्तिलाई अस्पतालमा राख्न मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरेका थिए ।

२०८१ वैशाख २४ मा आफैँले गरेको सो निर्णयअनुसार लामिछाने पनि अस्पताल बस्न पाउने छैनन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्