पहिलो चरणमा रविलाई छ दिन थुन्न अदालतले प्रहरीलाई दियो अनुमति

आइतबार, कात्तिक ४, २०८१

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए ।

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी जारी गरेसँगै शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा लगिएको थियो । अदालतले शुक्रबार लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यसअघि कास्की प्रहरीको टोलीले काठमाडौं गएर जोशीसँग भदौ ८ मा र लामिछानेसँग भदौ १० मा बयान कागज गराएको थियो । संसदीय समितिको प्रतिवेदन आएपछि असोज ६ मा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशी काठमाडौंको शंखमूलबाट पक्राउ परेका थिए । जोशीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरिसकेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएकामध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्