सोसल मिडिया
युनिकोड
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनेगरी छलफल अगाडि बढाएको छ । गएराति अबेरसम्म बसेको एमाले र कांग्रेसका नेताहरूबीचको बैठकमा अध्यादेश ल्याउने विषयमा सहमति भएको गोप्य स्रोतले बतायो ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाएका थिए । विशेषगरी नेकपा (एकीकृत समाजवादी)लाई विभाजन गर्नेगरी अध्यादेश ल्याउन तयारी भएको हो ।
एकीकृत समाजवादीमा असन्तुष्ट कम्तिमा पाँच जना सांसद एमालेमा जान तयार छन् । एकीकृत समाजवादीका सांसद प्रेम आलेले माधव नेपालको पार्टीमा नहुने निश्चित भइसकेको बताए ।
अध्यादेश ल्याउने विषयमा निकै अगाडिदेखि छलफल भएपनि आइतबार रातिमात्रै कांग्रेस सभापति देउवा सहमत भएका हुन् ।
अध्यादेश ल्याउने खबर सुनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसबारेमा बुझ्न कानुनविद गोविन्द बन्दीलाई शेरबहादुर देउवालाई भेट्न पठाए ।
भेटमा देउवाले आफू ओलीलाई दुखि बनाउने पक्षमा नरहेको जवाफ फर्काएका थिए । यद्यपी बन्दीले भने आफूले देउवालाई भेटेको इन्कार गरेका छन् ।
गएराति देउवा र ओलीका बीचमा भएको छलफल विष्णु पौडेल, शंकर पोखरेल, रमेश लेखक, गगन थापा, विष्णु रिमाल लगायतका नेताहरू बैठकमा सहभागी भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी आजैका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अध्यादेश ल्याउने विषयमा कुराकानी भएको र आजैको बैठकमा आउँछ या आउँदैन यसै भन्न नसकिने सत्तारुढ दलका एक नेताले भने । अध्यादेश ल्याएपछि ओलीले मन्त्री हेरफेर गर्ने समेत श्रोतको दाबी छ।