राजेन्द्र लिङ्देनलाई स्वदेशी राजै चाहियो 

मंगलबार, वैशाख ११, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नवीन समझदारीका आधारमा राजसंस्था स्थापना गर्न माग गरेका छन् । मंगलबार कतारका राजा शेख तमिम बिन हमद अल थानीलाई नेपाल भ्रमणमा स्वागत गर्दै उनले कतारका राजालाई नेपाल सरकारले राखेको स्वागत कार्यक्रमको प्रशंसा गरेका हुन् । 

उनले नेपालमा पनि राजसंस्था राख्नका लागि हीनताबोध नगर्न र नयाँ समझदारीका साथ  राजसंस्था पुनर्स्थापना गर्न आग्रह गरेका छन् ।  लिङ्देनले लेखेका छन्, ‘लाखौँ नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमिम बिन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ । 

कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिइने कार्यक्रम छ । नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । 

यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो । त्यसैले हीनताबोध नगरौँ, नवीन समझदारी गरौँ, नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनर्स्थापना गरौँ ।’

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्