प्रतिपक्षी दलका छ भाई बोकेर प्रचण्ड बालुवाटार पुगे, ओली सँग आँखा जुधाउने

सोमबार, कात्तिक ५, २०८१

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका प्रतिपक्षी दलका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

बाढी पहिरो पीडितहरुलाई समयमै राहत उपलब्ध गराउने विषयमा ज्ञापनपत्र हस्तान्तरणका लागि चार प्रतिपक्षी दलका नेताहरु बालुवाटार पुगेका हुन्।

बालुवाटार पुग्ने नेताहरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्याल र सांसद शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देन छन्।

कार्तिक १ गते बसेको प्रतिपक्षी दलहरुको बैठकले राहत वितरणमा भइरहेको ढिलाईबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। सोही बमोजिम आज अपरान्ह ज्ञापनपत्र बुझाउने कार्यक्रम भएपनि प्रचण्ड र नेपाल उपत्यकावाहिर भएकाले साँझ आठ बजेका लागि कार्यक्रम तय गरिएको हो।

कार्तिक १ को प्रतिपक्षी दलहरुको बैठकमा सत्तामा रहेका लोसपा र नागरिक उन्मुक्ति पार्टी सहभागी भएपनि आज भने उनीहरु सामेल छैनन्।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्