मितेरी सहकारीको पैसा दम्पच दुई जनाविरूद्ध रेड कर्नर नोटिस

मंगलबार, कात्तिक ६, २०८१

मितेरी सहकारी बचत तथा ऋण सहकारीको रकम अपचलनमा ज्योति गुरूङसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो ।

सीआईबीका एसपी होमिन्द्र बोगटीले उनीहरुविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलको सचिवालयमा पत्राचार गरिएको जानकारी दिए । सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले जाहेरी दिएपछि उक्त सहकारीको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सो सहकारीको प्रबन्ध निर्देशक हुन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशङ्का गरिएको छ ।

उनले ज्योति गुरुङबाट पनि रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरू बताउँछन् । सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन् विच्छेद गरेको भेटिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्