सोसल मिडिया
युनिकोड
जलवायुसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप २९) मा नेपालको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् । सम्मेलन २६ कात्तिकदेखि ७ मंसिरसम्म अजरबैजानको बाकु सहरमा हुँदै छ ।
अजरबैजानका राष्ट्रपति इहाम हेइदर ओग्लु अलिभेभको निमन्त्रणामा राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी हुन लागेका हुन् । ‘जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सिलसिलामा राष्ट्रपति अजरबैजानको भ्रमणमा जाने कार्यक्रम तय भएको छ,’ राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले भने ।
राष्ट्रपति कार्यालयका जलवायु तथा वातावरण विज्ञ, परराष्ट्र एवं वन तथा वातावरण मन्त्रालयका अधिकारी पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । यसपालि सम्मेलनको मूल नारा ‘हरित विश्वका लागि ऐक्यबद्धता’ तय भएको छ ।
सम्मेलनको उद्घाटन २६ कात्तिकमा हुनेछ भने २७ र २८ कात्तिकमा विश्वका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले हिमाल र जलवायु परिवर्तन तथा जलवायु न्यायका विषयमा सम्बोधन गर्ने तयारी छ ।
यता, उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्।
हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएका हुन्।
उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ।
उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित छन्। उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन्।