पोखरामा रास्वपाले जनता र अदालतको पाएन साथ, तात्तिएर गएकाको रित्तै हात

बिहीबार, कात्तिक ८, २०८१

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई सडक आन्दोलनबाट छुटाउन भन्दै पोखरा पुगेका रास्वपा नेताहरु रित्तोहात फर्किएका छन् । 

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सडकबाटै रविलाई छुटाउने भरपुर प्रयास गरेपनि पोखरेली जनताले साथ नदिएपछि रास्वपा आजबाटै काठमाडौं केन्द्रीत बनेको छ । रास्वपाले भोलि काठमाडौंको माइतीघर मण्डलामा कार्यक्रम गर्ने छ । रास्वपाले भोलिको विरोध प्रदर्शनमा जम्मा हुन नेता कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् । बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्