सोसल मिडिया
युनिकोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती घुस प्रकरणमा जोडिएका छन्। उनले घुस लिएको तथ्य सार्वजनिक भए संगै मन्त्रालयले उनलाई जिम्मेवारी बाट हटाएर मन्त्रालय तानेको छ। उनी माथि छानबिन शुरु भएको मन्त्रालय श्रोतले बताएको छ।
विद्यार्थी राजनीति हुँदै पत्रकारिता क्षेत्र बाट उदाएका उप्रेती विवादित व्यक्ति हुन्। उनले डेर्नमाकको अवैतनिक श्रम दूत बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको उजुरी परेपछि मन्त्रालयले छानबिन थालेको हो ।
उनलाई घुस बापत बुझाईएको रसिदसहित उजुरी परे पछि मन्त्रालय उनलाई तानेर छानबिन गर्न बाध्य भएको हो । उनीमाथि छानबिनका लागि मन्त्रालयले कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
डेनमार्कको लागि अवैतनिक श्रम दूत नबनाइदिएको भन्दै रसिदसहित प्रधानमन्त्री कार्यालयमा उजुरी दिए पछि उनी माथि एक्सन लिईएको हो।
प्रधानमन्त्री कार्यालयले उनीमाथि छानबिन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएपछि उनी माथि छानबिन भएको श्रोतको दाबी छ। बैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यू भएमा उसको शव ब्यबस्थापन गर्न खर्चिनु पर्ने रकम खर्च गरेर विदेश शयर गरेको, आफ्नालाई चोरबाटो बाट जागिर लगाएको र अनावश्यक शिर्षकमा अस्वाभाविक खर्च गरेको विषयमा उजुरी परेपछि उनी माथि अख्तियारले समेत अनुसन्धान गरिरहेको श्रोतको भनाई छ।
श्रम मन्त्री शरत सिंह भण्डारीले उनलाई यस अघि नै बर्खास्त गर्न खोजेका थिए। तर उच्च तहको राजनीतिक दबाबका कारण त्यो हुन नसकेको श्रोतको भनाई छ। शंकर देव क्याम्पसका पूर्व स्ववियु उपसभापति उप्रेती हातहतियार तथा खरखजना काण्डमा जेल परेर छुटेका व्यक्ति हुन्।
उनीमाथि आफू निकटकालाई जागिर खुवाएको आरोप समेत लागेको छ । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । उप्रेती एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निकट हुन्। सोही पार्टीका सांसद शेरबहादुर कुँवर श्रम मन्त्री भएको बेला उनले बोर्डमा जागिर खाने अवसर पाएका हुन्।