मन्दिराले नाङ्गो खुकुरी नचाएपछि एमाले मुख्यालयमा खैलाबैला

शनिबार, कात्तिक १०, २०८१

शासन सत्ताको बागडोर सम्हालेको एमालेको मुख्यालयमा दिउँसै लफडा भएको छ। सोही पार्टीका मूली केपी ओली देशको प्रधानमन्त्री छन् तर उनकै अड्डामा खुकुरी नचाएर ताण्डब देखाईएको छ। र त्यसरी आज शनिवार दिउँसै खुकुरी नचाउने कार्यकर्ताको पहिचान भएको छ । 

एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकअघि आज दिउँसो च्यासलमा दुई पक्षीय झडप भएको थियो । त्यसक्रममा पार्टीको बागमती प्रदेश कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव मन्दिरा श्रेष्ठले नाङ्गो खुकुरी नचाएकी हुन् ।

आज र भोलि दुई दिन बस्नेगरी महासंघले तेस्रो बैठकको आयोजना गरेको थियो । बैठक शुरु हुनुअगावै श्रेष्ठ एकाएक खुकुरी हल्लाउँदै निस्किएपछि भाँडभैलो मच्चियो । खुकुरी खोस्न प्रहरी सहायक निरीक्षक सरस्वती खनालले निकै प्रयास गरेको सार्वजनिक भएको  भिडियोमा देखिन्छ । 

झडपपछि बिथोलिएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री ओली पुगेपछि ढिलो गरी शुरु भएको र दुई दिने बैठक आजै सम्पन्न भएको बुझिएको छ ।

महासचिव पेम्बा भोटे गुरुङ्गलाई अध्यक्ष पासाङ्ग शेर्पाले कारवाही गरेसँगै जनजाति महासंघमा लफडा छ। अध्यक्ष शेर्पा बहुबिबाहमा डामिएका व्यक्ति हुन्। उनैले भोटेलाई कारबाही गरेपछि मन्दिराले खुकुरी नचाएको बताईएको छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्