सिडिओ सरुवामा सुशासनको जलप हालेर कुशासनमा रमाउँदै गृहमन्त्री

सोमबार, कात्तिक १२, २०८१

निजामति सेवालाई केहीले पेवा बनाएको अहिले मात्र होइन। आफू अनुकुल व्याख्या र मनमौजी सरुवाले उक्त सेवामा खिया लाग्ने क्रम झन् झन् बढ्दो छ। कर्मचारीको खटनपटन गर्ने सामान्य प्रशासन मन्त्रालयमै बेतिथी बढेपछि त्यसको छर्रा जताततै  पर्न थालेको छ। स्थानीय तहमा कर्मचारी खटाउने सवालमा सामान्यले सधै असामान्य काम गर्दै आएको छ। एक किसिमले यो संस्कार जस्तै बन्न पुगेको छ। 

स्थानीय तहमा निमित्त प्रशासकीय अधिकृत खटाउने रोगले जताततै गाँजेको छ। सुशासनको जलप हालेर कुशासनमा रमाउन सबै मरिहत्ते गरेरै लागिपरेका छन्। सामान्यले त गर्यो नै संवेदनशील ठानिएको गृह मन्त्रालय समेत लत्तो छोडेर सहसचिवलाई सिडिओ बनाएर पठाउनु पर्ने जिल्लामा एक तह मुनिका उपसचिवलाई खोजीखोजी र रोजीरोजी सिडिओ बनाएर पठाउनमा रमाईरहेको छ। यसो गर्नु पनि कुशासनलाई नै मलजल गर्नु हो। 

गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)लाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाउने ठाउँमा धमाधम पहुँचवाला उपसचिव गएका छन्। सहसचिवको दरबन्दी भएका झन्डै १ दर्जन जिल्लामा उपसचिव सिडिओ बनेर गएको पाइन्छ। सहसचिवलाई नै विस्थापित गरेर ती पहुँचवाला उपसचिवहरू आकर्षक जिल्लामा सिडिओ बनेर गएको पाइएको हो। केही सहसचिवलाई गृह मन्त्रालयको बरन्डामा थन्क्याएर उपसचिवलाई शान र मानसहित सिडिओ बनाएर पठाएको पाइन्छ।

अहिले दार्चुला, बझाङ, बाजुरा, हुम्ला, मुगु, डोल्पा, मनाङ, मुस्ताङ, म्याग्दी, रसुवा, सोलुखुम्बु, रुकुम पश्चिम, रुकुम पूर्व, कालीकोट,तेह्रथुम र ताप्लेजुङ्गमा मात्र उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ)को दरबन्दी छ। तर, डोटी, बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, दैलेख, सल्यान, प्युठान, अर्घाखाँची जस्ता सहसचिवको दरबन्दी भएको ठाउँमा पनि उपसचिवलाई सिडिओ बनाएर पठाईएको छ ।

रामेछाप सहसचिवका लागि पनि सिडिओ बन्ने आकर्षक जिल्लामा पर्छ। रामेछापकी प्रमुख जिल्ला अधिकारी (सहसचिव) अनिता निरौलालाई विस्थापित गरेर उपसचिव राजुप्रसाद पौडेल सिडिओ बनेर गएका हुन्। गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालय, बुटवलका उपसचिव मोहनराजलाई डोटीको सिडिओ बनाएर पठाएका छन्। सहसचिव कै दरबन्दी रहेको बैतडीको प्रमुख जिल्ला अधिकारी पनि उपसचिव दिर्घराज उपाध्यायलाई बनाइएको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही पनि उपसचिव नै हुन्। उनी सहसचिवलाई जयकुमार घिमिरे विस्थापित गरेर जुम्लाको सिडिओ भएर गएका हुन्। अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल पनि उपसचिव नै हुन्। सहसचिवको दरबन्दीमा पहुँच र प्रभावका आधारमा यी उपसचिव पनि सिडिओ बनेका हुन्।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सिडिओ पनि उपसचिव नै हुन्। सहसचिवको दरबन्दीमा झापाली उपसचिव चोमेन्द्र न्यौपाने डडेल्धुराको सिडिओ बन्न सफल भएका छन्। लगातार सहसचिवले कमाण्ड गरेको प्युठानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी अहिले उपसचिव रमा आचार्य (सुवेदी)लाई दिइएको छ।सहसचिव रमाएर बस्ने दैलेखको प्रमुख जिल्ला अधिकारीमा उपसचिव नवराज जैसी जान सफल भएका छन्। त्यस्तै सल्यानका सिडिओ पनि उपसचिव शम्भुप्रसाद रेग्मी हुन्।

अहिले गुल्मीको प्रमुख जिल्ला अधिकारी रहेका उपसचिव कृष्णप्रसाद शर्मा पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारी भएर गएका छन्। उनलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभामामा कामकाजका लागि खटाइएको छ। गुल्मीको प्रमुख जिल्ला अधिकारीमा भने तनहुँका सिडिओ (सहसचिव) जनार्दन गौतमको हालै सरुवा भएको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी रहेका उपसचिव भीमकान्त शर्मा डोटीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजमा खटिएका छन्। गुल्मी र बैतडीको सिडिओ रहेका शर्माद्वय खटाएको जिल्लामा सहायक भएर काम गर्न जानु नपरेपछि उनीहरू कति प्रभावशाली रहेछन् भनेर सहजै अनुमान लगाउन सकिन्छ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी पनि पहुँचवाला उपसचिव हुन्। उनी हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव ऋषिराज आचार्यलाई विस्थापित गरेर जाजरकोटको सिडिओ भएका उपसचिव हुन्। सहसचिवको दरबन्दी रहेको लमजुङमा समेत सिडिओ चलाएर आएका उमाकान्त सुन काण्डमा विवादमा परेपछि गृह मन्त्रालयमा तानिएका थिए। केही समय गृह मन्त्रालयको जगेडामा बसेपछि उनी फेरि जाजरकोट सिडिओ बनेर जान सफल भए। उमाकान्तलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी (सहसचिव) मेखबहादुर मंग्रातीले विस्थापित गरेपछि गृह मन्त्रालय फर्किएका छन्। अब भने उनी गृह मन्त्रालयबाट बाहिरने सम्भावना देखिन्छ।

सहसचिवको दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाउनुले गृह मन्त्रालयका कुन हदसम्मको बेथिति र विसंगति छ भन्ने प्रस्ट हुन्छ। ति जिल्लामा दरबन्दी देखाएर सहसचिव बनाउने तर त्यो ठाउँमा उपसचिव खटाउने कार्यले निजामती प्रशासनमा विकृति पैदा हुन थालेको छ। सुशासनमा गृहका प्रशासनहरु इमानदार नहुँदा यस्तो बेथिति देखिएको हो। 

विवादित व्यक्तिलाई काखी च्याप्ने मामिलामा गृहमन्त्री रमेश लेखक उदार देखिएका छन्। काठमाडौँका मेयर बालेन शाहले अनियमितता गरेको आरोपमा लखेटेका सहसचिव बसन्त अधिकारीलाई लेखकले सिडिओ बनाएर पठाएका छन्।

अर्का विवादित सहसचिव तिर्थ भट्टराईलाई त्रिवि अध्यागमनमा पठाएका छन् भने टोकराज पाण्डेलाई आफ्नै दाहिना बनाएका छन्। लेखकको कार्यसम्पादन देखेर गृह मन्त्रालयका उच्च अधिकारी छक्क पर्न थालेका छन्। हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेको भन्दा पनि झुर काम गर्न मात्र मन्त्री लेखक सिपालु रहेको एक सहसचिवले बताए। 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्