कात्तिक १८ गते बिहान ११:३७ बजे भाइटीकाको उत्तम साइत 

सोमबार, कात्तिक १२, २०८१

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।

कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको साइत शुभ साइत हुने निर्क्योल गरिएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। समितिको आजको बैठकले यो निर्णय गरेको उनको भनाइ छ।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा (भाइपूजा) पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबार सुरु हुँदै छ। मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ गते बुधबार परेको छ।

कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइनेछ।

समितिको विज्ञप्तिअनुसार, कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ। कात्तिक १६ गते शुक्रबार औँशी परेको छ। त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ। यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्