सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले निजामती सेवा ऐनअन्तर्गत हालसम्म सय जना कर्मचारीहरुलाई पनि कारबाही गर्न नसकिएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले कारबाही गर्नसक्ने प्रावधान भए पनि कार्यालय प्रमुखले कारबाही गर्नसक्ने स्थिति नरहेको बताए।
उनले निजामती सेवा ऐनले कार्यालय प्रमुखलाई त्यो अधिकार दिएको भए पनि ऐन बनेदेखि हालसम्म कार्यालय प्रमुखले सय जना कर्मचारीलाई पनि सोअनुरुप कारबाही गर्न नसकेको बताए। त्यसरी कारबाही गरेको अवस्थामा ट्रेड युनियनहरुले कार्यालय प्रमुखलाई कालोमोसो दल्ने तथा भौतिक आक्रमणसम्म गर्ने स्थिति रहेका कारण कार्यालय प्रमुखले त्यसो गर्न नसकेको उनको भनाइ छ।
उनले सम्बन्धित निकायले कानुनको अक्षरशः परिपालना गरेमा सहज ढंगले काम हुनसक्ने बताए।
उनले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मात्रै नभएको भन्दै सम्बन्धित निकायले सम्बन्धित ऐन, कानुनको परिपालना गरेर काम गरेमा भ्रष्टाचार नहुने बताए।