रास्वपा दिउँसो शव बनाएर सडक चहार्ने, राति-राति उनै ओलीको आरती उतार्ने

मंगलबार, कात्तिक १३, २०८१

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीलाई धारेहात लगाएका रास्वपाका नेता कार्यकर्ताले तल्लो स्तरको गाली गर्न थालेको दुई साता पुग्न थालेको छ। दिउँसो दिउँसो ओलीको हुर्मत नेता रास्वपाका नेता राति राति उनै ओलीको आरति उतार्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रकरण सतहमा आएपछि चिजको विकास फरक ढंगले अगाडी बढेको जानकारहरुको तर्क छ। 

कति सम्म भने,सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखरा जिल्ला अदालत परिसरमै कार्यकर्तालाई निर्देशन दिएका थिए, “केपी ओली नेतृृत्वको सरकार नढल्दासम्म सडक नछाड्नुस् ।” तर उनै लामिछानेको सल्लाहमै रास्वपाका नेताहरू ‘लामिछाने बचाऊ’का निम्ति गृहमन्त्री–प्रधानमन्त्रीसँग भेट्दै हारगुहार गर्दैैछन् । 

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’ र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार सोमबार साँझ प्रधानमन्त्री भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरूले प्रधानमन्त्रीलाई भेटेर सभापति लामिछानेलाई बचाइदिन आग्रह गरेको प्रधानमन्त्री निकटहरूबाटै सार्वजनिक भएको छ ।

रास्वपा कार्यकर्ताले आफ्नो पुत्ला जलाएको मात्र होइन घाटमै दाहसंस्कार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आक्रामक बनेका थिए । तिनले ‘केपी चोर देश छाड’सम्मका नारा लगाइसकेका छन् । ओली र रास्वपाबीच तिक्त सम्बन्ध विस्तारित हुँदै गर्दा अर्याल र परियारले भेटेका हुन् । 

“रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार प्रधानमन्त्री निवासमा करिव ४५ मिनेट भेटेर बाहिरिनुभएको हो,” प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, “उहाँहरूको आग्रह राज्यले लामिछानेप्रति पूर्वाग्रह राखिदिनुभएन भन्ने थियो । तर, सरकारले कुनै आग्रह राखेको छैन । संसदीय समितिको निर्देशन अनुरुपका प्रक्रिया अघि बढ्दा सरकारले रोक्न सक्ने कुरा भएन ।”

उपसभापति अर्यालले आफूले प्रधानमन्त्री र गृहमन्त्री दुवैसँग भेट गरेको उल्लेख गर्दै प्रधानमन्त्रीसँगको भेटमा प्रमुख सचेतक सन्तोष परियार पनि साथमा रहेको र गृहमन्त्रीसँग एक्लै भेटेको जानकारी दिए । 

बालुवाटार पुग्दा निक्कै निरास देखिएका पूर्वमन्त्री डीपीले रास्वपा र एमालेबीचको विगतको निकट्ता कोट्याउँदै रविलाई छाडिदिन आग्रह गरेको बालुवाटार स्रोतको दाबी छ ।

‘विगतमा लामो समय हामी एकै ठाउँमा रह्यौं । भोलि पनि रहनसक्छौं । तपाईहरुको माया र सद्भावले हामी यहाँ आइपुगेका हौं । अहिले स्थिति अपठ्यारो छ । सहयोग गरिदिनुपर्यो । रविजीलाई बाहिरै राखेर अनुसन्धान होस् । यसमा सरकारले सहयोग गरिदिनुपर्यो’ प्रधानमन्त्री ओलीसँग डीपीले गरेको आग्रहबारे स्रोतले भन्यो ।

रवि छाड्न डीपीको आग्रहपछि प्रधानमन्त्री ओलीले भने तत्कालका लागि केही गर्न नसकिने जवाफ दिएका थिए ।‘तत्कालका लागि केही गर्न सकिएन् । मुद्दा फिर्ता लिने अवस्था पनि छैन् । अदालती प्रक्रियामा पुगिसक्यो’ डीपीसँग प्रधानमन्त्री ओलीले भनेका थिए । अर्याल र ओलीको संवादपछि सँगै रहेका प्रमुख सचेतक परियारले सरकारले चाहेमा रवि थुनामुक्त हुनसक्ने भन्दै प्रतिशोध नलिइदिन आग्रह गरेको उच्च स्रोतले जनाएको छ ।

दिनभरी ओलीविरुद्ध चर्को नाराबाजीगरेर साँझ ओली नै भेट्न बालुवाटार पुगेको भन्दै एमालेजन आक्रोशित बनेका छन् । प्रधानमन्त्रीविरुद्ध मुख छाडेर हिँड्ने, जिउँदोलाई मरेको घोषणा गर्ने र दाहसंस्कार गर्नेजस्तो निकृष्ट व्यवहार देखाएपछि रास्वपा आलोचनाको केन्द्रमा छ । एमाले नेता विष्णु रिजालले प्रधानमन्त्रीको दाहसंस्कारजस्तो अशोभनीय काम गर्नेहरू कुन मुख लिएर बालुवाटार पुगेको भन्दै प्रश्न उठाएका छन् । रविलाई बचाइदिनुपर्‍यो भनेर हारगुहार गरे पनि मुद्दा फिर्ता लिन सम्भव नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्