सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सभापति रवि लामिछाने छुटाउन पुगेका रास्वपाका नेताहरुलाई झाँको झारेको खुलेको छ । प्रधानमन्त्री ओलीलाई भेट्नको लागि गोप्य रुपमा रास्वपाका उपसभापति डिपी अर्याल र सांसद सन्तोष परियार पुगेका थिए । यी नेताले प्रधानमन्त्री ओलीसँग निकै बेर कुरेर दर्शन भेट पाएका थिए ।
भेटको सुरुवातमै प्रधानमन्त्री ओलीले झाँको झारेको खुलेको छ । खासगरी प्रधानमन्त्री ओलीले रास्वपाको आन्दोलनमा आफ्नो ‘दाहसंस्कार गरेको’ विषय जोडदार रुपमा उठाएका थिए । उनले आफू जिउँदो हुँदै दाहसंस्कार गरेकोमा व्यंग्य कस्दै ‘मेरा सन्तान छैनन्, तपाईंहरुले दाहसंस्कार गर्नुभयो, पछि मैले देख्दिनँ, अहिले नै देख्न पाएँ ।’
भेटवार्ताको क्रममा एकदमै निराश देखिएका रास्वपा नेताहरुले भने सभापति लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न विलौना गरेका थिए । तर, प्रधानमन्त्री ओलीले कानूनले आफ्नो बाटो समात्ने भन्दै त्यसमा आफूहरुको कुनै हात नभएको स्पष्ट पारेका थिए । प्रधानमन्त्री ओलीले रास्वपाले सडकमा तमाशा देखाएको समेत टिप्पणी गरेका थिए ।
उनले अब आफूलाई बा’ मानेर एमालेमा नै समाहित हुनपनि आग्रह गरेको खुलेको छ । प्रधानमन्त्री ओली आँफैले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बेलामा रास्वपालाई आफ्नो दलमा समाहित हुन भन्नु अर्थपूर्ण रहेको छ ।