रवि र छविको हिरासत बसाई लम्बियो, अदालतले तेह्र दिन थपिदियो

आइतबार, कात्तिक २५, २०८१

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई चौथो पटक म्याद थप गर्दै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने सहकारी ठगी, संगठित अपराधलगायतका आरोपमा लामिछाने गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछाने यसअघि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको बेलामा विभिन्न सहकारीबाट रकम ल्याउन र खर्च गर्नेमा उनको संलग्नता रहेको आरोप छ ।

सोही मुद्दामा पक्राउ परेर कास्की प्रहरीकै हिरासतमा रहेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई पनि अदालतले १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्