प्रधानमन्त्री ओलीले प्रचण्डलाई विराटनगर पुगेर फर्काए जवाफ

सोमबार, कात्तिक २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार बिहान पत्रकारले सोधेका प्रश्नको संक्षिप्त जवाफ दिँदै ओलीले एसपीपी सम्झौता नहुने बताएका हुन् । जहाजबाट ओर्लिएर गाडी चढ्ने बेलामा उनलाई पत्रकारले मुलुकको आर्थिक समृद्धि र अमेरिकाले प्रस्ताव गरेको एसपीपीका बारेमा प्रश्न गरेका थिए । जवाफमा ओलीले एसपीपी सम्झौता नहुने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार वर्तमान सरकारले एसपीपी सम्झौता गर्न सक्ने आशंकापूर्ण अभिव्यक्ति दिएका थिए । विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरेका हुन् । आइतबार मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको एसपीपी सम्झौता सरकारले गर्नसक्ने जिकिर गरेका थिए । 

तर,विराटनगर विमानस्थलमा ओलीले एसपीपी सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले मुलुकमा आर्थिक समृद्धिको काम भइरहेको बताए । ‘मुलुकको समृद्धिका लागि हामी काम गर्दैछौं,’उनले भने । त्यसपछि ओलीले थप प्रतिक्रिया दिन चाहेनन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्